नेपालमा विनाशकारी बाढीः न्युयोर्कका गभर्नर होकुल र मेयर ममदानीद्वारा दुःख व्यक्त

तु खबर संवाददाता
२०८३ भाद्र १२, शुक्रबार ०६:४४
तस्बिर : गिरिजा अधिकारी, न्युयोर्क

नेपाल-तिब्बत सीमा क्षेत्रमा हिमनदी र बरफ-चट्टान खसेर आएको भीषण पहिरो तथा त्यसपछिको बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति अमेरिकाको न्युयोर्क राज्यकी गर्भनर क्याथी होकुल र न्युयोर्क सिटीका मेयर जोहरान मामदानीले दुख व्यक्त गरेका छन् ।

बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको सतहले नेपालको रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म ठूलो विनाश फैलाएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म ३५९ जनाको शव फेला परेको छ ।

न्युयोर्ककी गभर्नर क्याथी होकुलले न्युयोर्कमा बसोबास गर्ने नेपाली समुदायप्रति पूर्ण समर्थन व्यक्त यो दुखद् घडीमा नेपालीको लागि प्रार्थना गरेकी छिन् ।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गरेकी छिन् । बेपत्ता भएकाहरूका लागि भगवानसित प्रार्थना गर्ने उल्लेख गर्दै उनले आफ्ना प्रियजन गुमाएका तथा नेपालमा रहेका परिवारको अवस्थालाई लिएर चिन्तित न्युयोर्कवासीहरूसँग साथमा रहेको समेत बताएकी छिन् ।

त्यस्तै, न्युयोर्क सहरका मेयर जोहरान ममदानीले पनि यहाँ बसोबास गर्ने नेपाली तथा तिब्बती समुदायप्रति समवेदना प्रकट गर्दै ऐक्यबद्धता जनाएका छन्।

नेपालीहरुलाई यो पीडा सहन एक्लै नभएको बताउँदै मेयर मामदानीले न्युयोर्क सहर साथमा उभिएको बताएका छन् ।