निरन्तरताको आलोकमा ‘झरना’- ४४
झरना साहित्यिक परिवार, छतिवन, मकवानपुरले तीन दशकभन्दा पहिलेदेखि प्रकाशन गरिरहेको ‘झरना’ साहित्यिक पत्रिकाले ४४ औँ अङ्क प्रकाशन गरिसकेको छ । यति लामो साहित्यिक यात्रामा झरनाले धेरै आरोह–अवरोह भोगेको पनि पत्रिकाको अङ्कले नै सङ्केत गर्दछ ।
‘झरना’ साहित्यिक पत्रिकाको प्रकाशन झरना साहित्यिक परिवारले गर्दै आएको छ । झरना साहित्यिक परिवार (झसाप)को स्थापना सम्भवतः २०५० मा भएको थियो र त्यस समयदेखि नै नियमित रुपमा गर्दै आएको कार्यक्रम हो – साहित्य गोष्ठी । पहिले अनियमित रुपमा भइरहेको र केही समयपछि नियमित रुपमा हुन थालेको साहित्य गोष्ठीले सयौँ प्रतिभाको उत्पादन गरेको छ । साहित्य गोष्ठीसँगै झसापको पत्रिका प्रकाशन अर्को महत्वपूर्ण कार्य हो । झसापको ‘झरना’मा पनि यस्ता अनेकौँ साहित्यकार होलान् जसको पहिलोपटक यसैमा रचना प्रकाशित भएको हुनुपर्छ ।
झरना साहित्यिक पत्रिका र साहित्य गोष्ठी दुवै कर्ममार्फत झसापले गरिरहेको काम आफैँमा कुनै महायज्ञभन्दा कम छैन । झसाप स्थापना हुँदाको समयमा साहित्य लेख्न तथा पढ्न सिक्ने कैयौँ साहित्यकारहरु अहिले देशका चर्चित साहित्यकार तथा मकवानपुरका वरिष्ठ साहित्यकारमा पुगिइसकेका छन् । साहित्यले व्यक्तित्व प्रदान गर्दछ भन्ने सिद्धान्तको व्यावहारिक पुष्टि गर्नुपर्यो भने कोही झसापलाई पढे हुन्छ । झसापको इतिहास यस अर्थमा गर्विलो छ । कतिपयले भन्ने गरेका छन् – साहित्यले चिनाएको कुनै गाउँ छ भने त्यो छतिवन हो । हो, झसापको स्थापना छतिवनमै भएको हो र आरम्भताका हरेक वर्ष फागुन १२ गते झसापले छतिवनमा गर्विलो महोत्सव गर्दै आएको थियो । देशका प्रतिष्ठित साहित्यकार तथा भाषासेवीहरू त्यस समय छतिवनलाई सम्झन्थे । छतिवने कार्यक्रमको आफ्नै मौलिकता थियो, आफ्नै सुगन्ध थियो र थियो आफ्नै सौर्य पनि ।
झसापले पत्रिका प्रकाशन र साहित्य गोष्ठीका लागि आजीवन सदस्य र विशिष्ट आजीवन सदस्य बनाउँदै आएको छ । यसै गरी पहिले छतिवन गाविस र वर्तमानमा बकैया गाउँपालिकासित मिलेर हरेक वर्ष एउटा ठुलो कार्यक्रम गर्दै आएको छ । झसापको आफ्नै जग्गा छ र आफ्नै भवन पनि बन्ने करिब पक्का भइसकेको छ । झसापको प्रकाशन कोष रहेको छ जसबाट झसाप सदस्यले कृति प्रकाशन गर्दा प्रक्रिया पूरा गरेर सहायता प्राप्त गर्दछन् । कृति प्रकाशनमा आर्थिक सहयोग हुनु एउटा पक्ष हो भने कृति प्रकाशनका लागि प्राविधिक पक्षमा सहयोग गर्नु अर्को महत्वपूर्ण कार्य हो झसापको । साथै झसापले विभिन्न पुरस्कार तथा सम्मानहरुको स्थापना र व्यवस्थापन पनि गरेको छ । दाताहरुलाई रिझाएको छ । हरेक वर्ष कृतिको प्रकाशन गरेको छ र नयाँ पुरस्कारको स्थापना तथा व्यवस्थापन पनि गर्दै सबै क्षेत्रलाई समेटेको छ । पुरस्कारहरुको प्रकृतिलाई विचार गर्दा भाषा र साहित्य, विभिन्न विधा र साहित्यिक तथा गैरसाहित्यिक पत्रकारिता पनि रहेको देखिन्छ । नवसर्जक वा बालसर्जकलाई पनि प्राथमिकता दिएर रचना प्रकाशन गरिरहेको छ । साहित्यसँगै फसापले कला क्षेत्रलाई पनि आफूमा समाहित गरेको छ । यसरी हेर्दा झसाप साहित्यिक उन्नयनको क्षेत्रमा निरन्तर क्रियाशील रहेको संस्था हो भन्ने कुरामा कसैलाई कुनै शङ्का हुनु नपर्ने हो । झसापको दायित्व क्षेत्रको विस्तार हुँदै जानु आफैँमा निकै सुखद पक्ष हो ।

झसापको झरना वर्ष ३२ अङ्क २ वैशाख–असोज पूर्णाङ्क ४४ सल्लाहकार रहेकाहरु डा. घनश्याम परिश्रमी, रमेशमोहन अधिकारी, उद्धव सापकोटा, जनार्दन खनाल, परशुराम गौतम, नारायण चापागाइँ र भरत सापकोटामध्ये परिश्रमी र अधिकारीबाहेक अन्य सबैमा निकै हदसम्म झरनाको हकदाबी लाग्ने देखिन्छ । पत्रिका परिवारका सम्पूर्ण सदस्यमाथि प्रत्यक्ष वा परोक्ष रूपमा पत्रिका तथा झसापको योगदान वा प्रभाव रहेको यथार्थलाई पनि आत्मसात गर्न सकिन्छ । सम्भवतः झसापको वर्तमान कार्यसमितिलाई हेर्न सकिन्छ । सबै त होइन तर बहुमत सदस्य तथा सल्लाहकार र संरक्षक यस पत्रिका तथा झसापका उत्पादन वा प्रबद्र्धन हुनुपर्छ । सम्पादकीयभित्र रहेको यस वाक्यले पनि धेरै अर्थ खोल्दछ – “हाम्रो मुख्य उद्देश्य पनि नयाँ पुस्तालाई सिर्जनशील बनाउँदै पठन संस्कृतिको विकास गर्नु नै हो ।” झरनाको आकार, पृष्ठ र सज्जालाई पनि इतिहासदेखि वर्तमानसम्म नियाल्ने हो भने धेरै परिवर्तन पाउन सक्छौँ । सिर्जना वा प्रकाशित विषयवस्तु तथा विधागत पहिचान र अन्तर्यका विविध पक्षमा पनि प्राप्त गरेको सबलता तथा दुर्बलतालाई पनि आर्जन नै मान्नुपर्ने हुन्छ । झरनाले धेरै सिकाएको छ र सिकेको पनि छ । सिक्ने र सिकाउने यात्रा निरन्तर छ, अविराम छ ।
४४औँ अङ्कको पहिलो रचना रहेको छ अनमोलमणिको स्मृति र इतिहासको विषयवस्तु रहेको “पच्चिस वर्षपछि ।” वर्तमानसित संवाद गरिएको यसमा पाइन्छ भावको गहनता र संवेद्यता । जनार्दन खनाल झ्याउरे लयमा विवाहमा गएको जन्तीको स्मृति गीत गाउँछन् “फर्कियौँ जन्ती” । सबै किसिमको विभेदप्रति असिम सागर खेद असहमति प्रकट गर्दछन् “गजल”मा भने रामकृष्ण अनायस “गजल”मा खोजी गरिरहेका छन् मानवताको । हिरा अधिकारी “मुक्तक” शीर्षकमा तिन मुक्तक प्रस्तुत गर्दै प्रेममा समर्पणको भावलाई देखाउन खोजेका स्पष्ट । सुमित्रा सुमीको “गजल”मा कुण्ठा र त्यागको भावलाई प्रस्तुत गरिएको छ मिश्रित रूपमा । सन्ध्या लम्सालको “मुक्तक” भनिएको पहिलो रचनामा जीवनको निस्सारतालाई बुझाइएको छ भने दोस्रोमा बताइएको छ विरहको गीत । “बाबा” शीर्षकमा प्रसिद्धि भट्टराईले बाबाको मायाले गर्दा जीवनलाई बुझेर विश्वास दिलाइएको छ आशा र भरोसाका कोपिलाहरू फक्रने भविष्य । रामकुमार एलनको “साकुरा सहरमा नफक्रेको सुनगाभा” मा युवाहरू विदेसिन बाध्य यस देशमा अझै पनि अपेक्षित विकास हुन बाँकी रहेको भाव व्यक्तिएको छ कलात्मक रुपमा । रितिका खतिवडाको “अबोध बालिका” ले निशा तामाङको वीभत्सतापूर्वक गरिएको दुष्कर्म र हत्याको विषयलाई उठान गर्दै एकातिर उठाइएको छ समाजको चिन्तनमाथि प्रश्न भने अर्कोतिर देखाइएको छ हाम्रो अवस्था । विथोलिए पनि सपनाहरू अन्तरिक्षमा पुग्न नसकिए सगरमाथा चढ्ने दृढता व्यक्त गरिएको छ “जिन्दगी”मा अनिता भोम्जनद्वारा भने “आमा”लाई चिनाउने कलामा सफलता प्राप्त गरेकी छन् “अस्मिता तिमल्सिना” ले । विपना मुक्तानको “सहर”भन्दा गाउँ प्यारो हुनुको कारण खोतल्दछ प्राकृतिक र कृत्रिम वातावरण देखाउँदै ।
“जीवनको ऊर्जा” सकारात्मक चिन्तन भएको कथा हो सुवास खनालको । विश्वनाथ सञ्जेलको “पच्चिस हजार” संस्मरणमा बाल्यकालदेखिको जीवनका विभिन्न आरोह–अवरोहलाई प्रस्तुत गर्दै पहिलोपटक सरकारी तलब रौतहटमा शिक्षकको रूपमा शीर्षकबमोजिमको खान पाएर गर्वको अनुभूति भएको बताउँदै उल्लेख गरिएको छ अलिकति सन्तोषको बाटोमा वृत्तिले खुट्टामा उभिन पाएको । एक ठाउँमा म पनि आएको छु यसमा । “सङ्घ, प्रदेश र स्थानीय तहका प्रज्ञा प्रतिष्ठानबारे” गोपाल सञ्जेलले लेखेको सान्दर्भिक लेख प्रज्ञा प्रतिष्ठानबारे विचार गर्ने काम लाग्ने छ सबैका लागि । रमेशमोहन अधिकारी “हेटौँडाबाट दाङ” जाँदा देखे, भोगे र अनुभव गरेका विभिन्न सन्दर्भलाई प्रस्तुत गरेका छन् रोचक, यथार्थ र जिज्ञासामूलक शैलीमा । “नेपाली बालकाव्यको विकास प्रक्रिया” शीर्षकमा दीपक गौतमले लेखेको शोधमूलक समीक्षा शीर्षकानुसार लेखिएको छ विस्तारपूर्वक । समग्रमा छ चरणमा विभाजित यस अनुसन्धानमा बालसाहित्यको भविष्य उज्ज्वल रहेको बताइएको छ निष्कर्षमा ।
विभिन्न विधा र प्रकृतिका रचनाले सुसज्जित यो अङ्क बालदेखि प्रौढ साहित्यसम्मको साक्षी बनेको छ यथार्थमा । अग्रजका रचनाहरू जति खारिएका छन्, नवसर्जकका सिर्जनाहरू पनि छन् त्यत्तिकै माझिएका । यद्यपि कतिपय रचनाहरू निकै लामा छन् आयामका दृष्टिले, एक अङ्कमा एक वा दुई लामा रचना मात्र दिए राम्रो । आधुनिक नेपाली साहित्यमा झरना र झसापको योगदान र हस्तक्षेप जुन किसिमको रहेको छ, यसैको निरन्तरताको एउटा शृङ्खलाको दस्तावेजको रूपमा झरनाको ४४औँ अङ्कलाई लिन सकिन्छ ।
(साहित्यमा मकवानपुरको महक : शृङ्खला ४६)
