बीमापोष्टको वार्षिकोत्सव, वित्तीय पत्रकारितामा थप जिम्मेवार हुने प्रतिवद्धता

तु खबर संवाददाता
२०८३ बैशाख ३१, बिहीबार २१:००

‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने अभियानका साथ सुरु गरिएको बीमापोष्ट डटकमले आफ्नो छैटौं वार्षिकोत्सव मनाएको छ । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा सञ्चालित बीमापोष्टले वित्तीय पत्रकारितामा थप जिम्मेवार भएर पत्रकारिता गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

कार्यक्रममा सहभागीहरूले बीमापोष्टले छोटो अवधिमै बीमा तथा वित्तीय पत्रकारितामा फरक पहिचान बनाउन सफल भएको धारणा व्यक्त गर्दै थप जिम्मेवार भएर प्रस्तुत हुने अपेक्षा राखेको बताए ।

सो अवसरमा बीमापोष्टका सम्पादक नवराज न्यौपानेले पछिल्ला वर्षहरूमा बीमा तथा वित्तीय क्षेत्रका सूचना र समाचारलाई व्यवस्थित ढंगले आमपाठकमाझ पु(याउन बीमापोष्टले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र यस कार्यमा सहयोग पुर्याउने सबैमा धन्यवाद समेत व्यक्त गरे ।

उनले पाँच वर्षको यात्रामा संस्थाले विश्वसनीयता र पाठकको भरोसा हासिल गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ जिम्मेवार, अनुसन्धानमुखी र प्रभावकारी पत्रकारितालाई प्राथमिकतामा राखिने स्पष्ट पारे ।

खोजमुलक समाचारहरुलाई प्राथमिकता दिएको स्मरण गर्दै न्यौपानेले बीमापोष्टमाथि भइरहेका आक्रमणको कानुनी रुपमा समाना गरिने समेत बताए । समाचार लेखेकै आधारमा त्यसको सत्यतथ्य तथा प्रमाणहरुको बस्तुनिष्ठ मुल्यांकन नगरी हचुवाको भरमा भइरहेका आक्रमण प्रेसमाथिको आक्रमण भएको समेत न्यौपानले बताए । जति सुकै आक्रमण भएपनि बीमापोष्टले त्यसको सामना गर्ने र त्यो कानुनी प्रकृयाद्वारा हुने समेत स्पष्ट पारे ।