२१ औँ विश्वशान्ति महामैत्री बोधि मार्ग दर्शन कार्यक्रम हेटौंडामा हुने
हेटौंडा । बोधी श्रवण धर्म संघ–नेपालको आयोजनामा हेटौँडामा २१ औँ विश्वशान्ति महामैत्री बोधि मार्ग दर्शन तथा मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम हुने भएको छ । हेटौंडा ४ हुप्रचौरमा चैत २६ देखि ३० गतेसम्म अनुष्ठान कार्यक्रम हुने भएको हो ।
‘लिटल बुद्ध’ भनेर चिनिएका रामबहादुर बम्जनका अनुयायीहरुको अगुवाइमा उक्त कार्यक्रम हुन लागेको हो । आयोजक संस्थाले प्रेस विज्ञप्तिमार्फत विश्वशान्ति, मैत्रीभाव र मानवताको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
आयोजकले सम्पूर्ण मानव समुदाय, धर्मप्रेमी, संघ–संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । विज्ञप्तिमा आधुनिक विश्व तीव्र भौतिक प्रगतितर्फ अघि बढिरहेपनि मानव समाजभित्र असहिष्णुता, हिंसा र विभाजन बढ्दै गएको उल्लेख गरिएको छ । यस्तो अवस्थामा शान्ति, सत्य र शुद्धतालाई व्यवहारमा उतार्न आवश्यक रहेको जनाउँदै लोभ, मोह, डाह, ईर्ष्या र घमण्ड त्याग्दै मैत्रीभावको विकास गर्नुपर्नेमा जोड दिइएको छ । त्यसैगरी धर्म, भाषा, जात र देशका आधारमा हुने विभेद अन्त्य गरी मानवतालाई प्राथमिकता दिनसके विश्व स्वतः शान्तितर्फ अग्रसर हुने विश्वास व्यक्त गरिएको छ । साथै, व्यक्तिगत शान्ति नै विश्वशान्तिको आधार हुने भएकाले ‘म’ भन्दा ‘हामी’ को भावना विकास गर्नुपर्ने उल्लेख गरिएको छ ।
कार्यक्रममार्फत विश्व समुदायलाई द्वन्द्वको सट्टा संवाद, घृणाको सट्टा प्रेम र विभाजनको सट्टा एकता रोज्न अपिल गरिएको छ । सकारात्मक सोच, निस्वार्थ सेवा र मैत्रीभावद्वारा समाजमा शान्ति स्थापना गर्न सकिने आयोजकको भनाइ छ ।
कार्यक्रमको समापनमा सत्य, शुद्धता, इमान्दारिता, संयमता, धैर्यता र शान्तिलाई मुख्य उद्देश्यका रूपमा अघि बढाइने तथा मैत्रीभावलाई शक्तिको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
