प्रचण्डद्वारा प्रधानमन्त्री कार्कीको प्रशंसा, निर्वाचन ऐतिहासिक भएको टिप्पणी

तु खबर संवाददाता
२०८२ चैत्र ४, बुधबार १३:४४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड ले प्रधानमन्त्री सुशीला कार्की को नेतृत्वको प्रशंसा गरेका छन्। बुधबार बिहान प्रचण्डसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायतका नेताहरू प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए।

भेटमा प्रतिनिधि सभा निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। प्रधानमन्त्री कार्कीले नेताहरूलाई निर्वाचनमा सहभागिता जनाई देशमा शान्तिपूर्ण र लोकतान्त्रिक वातावरण बनाउन सहयोग गरेकोमा धन्यवाद दिइन्। साथै उनले निर्वाचनमा विजयी भएका नेताहरूलाई बधाई दिँदै पराजित भएकाहरूलाई आगामी दिनका लागि शुभकामना व्यक्त गरिन्।

नेकपाका नेताहरूले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वमा सफलतापूर्वक निर्वाचन सम्पन्न भई देशले राजनीतिक निकास पाएको भन्दै बधाई दिएका छन्। यस क्रममा प्रचण्डले निर्वाचन नभएको भए देश ठूलो संकटतर्फ जान सक्ने बताएका छन्। उनले भने, “यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो। तपाईंले देखाएको साहस र मेहनत निकै प्रशंसनीय छ।”

प्रचण्डले आफ्नो पार्टी सुरुदेखि नै निर्वाचनको पक्षमा उभिएको स्मरण गराउँदै भने, “हामीले सुरुदेखि नै निर्वाचनको विकल्प छैन भन्ने अडान लिएका थियौँ।”

त्यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुशीला कार्की प्रधानमन्त्री बन्ने समाचार सुन्दा आफूलाई राहत महसुस भएको बताए। उनले भने, “तपाईं प्रधानमन्त्री भएपछि संविधान जोगिन्छ, व्यवस्था स्थिर हुन्छ र देशले निकास पाउँछ भन्ने विश्वास थियो।”

नेपालले अस्तव्यस्त परिस्थितिमा छोटो समयमै निर्वाचन गराउनु चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको इमानदारी, दृढता र नेतृत्वका कारण सम्भव भएको उल्लेख गरे।