अमेरिकाको मिसिगनमा टोर्नाडो, ८ जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ फाल्गुन २४, आईतवार ०५:१२

न्युयोर्क। संयुक्त राज्य अमेरिकाको मध्य(पश्चिमी राज्य मिसिगनमा शनिबार आएको शक्तिशाली टोर्नाडोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। दक्षिण(पश्चिमी मिसिगनका कैयौँ काउन्टीहरूलाई प्रत्यक्ष असर पारेको यस विनाशकारी चक्रवातका कारण हालसम्म कम्तीमा ८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने दर्जनौँ घाइते भएका छन्।

प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका भिडियो फुटेजहरूमा टोर्नाडोको शक्ति भयानक देखिन्छ, जहाँ घरका छाना, बिजुलीका पोल, र ठूला रुखका हाँगाहरू कागजको टुक्राझैँ हावामा उडिरहेका थिए। आँधीले सयौँ घरहरूलाई क्षतिग्रस्त बनाएको छ भने कतिपय क्षेत्रहरू पूर्ण रूपमा भग्नावशेषमा परिणत भएका छन्। उद्धार टोलीहरू अहिले भग्नावशेषमा पुरिएका जीवित व्यक्तिहरूको खोजीमा जुटेका छन्। स्थानीय प्रशासनले विद्युत सेवा काटिएका कारण हजारौँ बासिन्दाहरू अन्धकारमा बस्न बाध्य भएको र सडकहरू अवरुद्ध भएकाले राहत कार्यमा कठिनाइ भइरहेको जनाएको छ।

विशेषज्ञहरूले मिसिगनको यो घातक टोर्नाडो र न्युयोर्कको असामान्य न्यानोपनलाई वायुमण्डलीय चापमा आएको अचानक परिवर्तनसँग जोडेर हेरेका छन्। एकातिर मध्य अमेरिका प्राकृतिक विपत्तिसँग जुधिरहेको छ भने अर्कोतिर न्युयोर्कबासीहरू यो साताको अन्त्यमा हल्का ज्याकेटमै बाहिर निस्कन सक्ने अवस्थामा छन्। मौसमविद्हरूले भने मिसिगनका बासिन्दाहरूलाई अझै केही समय सतर्क रहन र सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेका छन्।

यसैबीच, अमेरिकाको पूर्वी तटीय क्षेत्रमा रहेको न्युयोर्क शहरमा भने मार्च महिनाको यो समयमा अनौठो र निकै न्यानो मौसम देखिएको छ। मार्च ८ र ९ मा न्युयोर्कको तापक्रम सामान्यभन्दा निकै माथि अर्थात् १८ देखि १९ सम्म पुग्ने अनुमान गरिएको छ। सामान्यतया मार्चको सुरुवाती सातामा न्युयोर्कमा चिसो हावा र हिमपातको सम्भावना हुने भए पनि यस वर्ष भने वसन्त ऋतुको झल्को दिने गरी आकाश खुल्ने र घमाइलो हुने देखिएको छ।