दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै न्युजिल्याण्ड फाइनलमा

तु खबर संवाददाता
२०८२ फाल्गुन २१, बिहीबार ०६:५६
फोटो : आइसीसी

ओपनर फिन एलेनको ऐतिहासिक र विस्फोटक शतकको मद्दतले न्युजिल्यान्ड आईसीसी टी–२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। बुधबार कोलकाताको इडेन गार्डेन्समा भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले स्तब्ध पार्दै न्युजिल्यान्ड फाइनल पुगेको हो ।

दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्यलाई न्युजिल्यान्डले मात्र १२.५ ओभरमा १ विकेट गुमाएर सहजै पार गर्‍यो। यस जितसँगै न्युजिल्यान्डले टी–२० विश्वकपको इतिहासमा दक्षिण अफ्रिकामाथि पहिलो पटक जित दर्ता गरेको हो । यस अघि उसले समुह चरणको खेलमा दक्षिण अफ्रिकासित हार व्यहोरेको थियो ।

न्युजिल्यान्डका एलेनले ३३ बलमा शतक बनाए । १० चौका र ८ छक्कासहित सबैभन्दा छिटो शतक बनाउने खेलाडीमा उनले किर्तिमान समेत बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले मार्को यानसेनको अविजित ५५ रनको सहयोगमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन जोडेको थियो। न्युजिल्यान्डका लागि म्याट हेनरी, कोल मेकोन्की र रचिन रविन्द्रले समान २–२ विकेट लिएका थिए। अब न्युजिल्यान्डले फागुन २४ गते अहमदाबादमा हुने फाइनल भिडन्तमा भारत र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।