तेस्रो विश्वकप यात्रामा नेपाल, पहिलो खेलमै च्याम्पियन इङ्ल्यान्डसँग भिडन्त
काठमाडौं । तेस्रो पटक आईसीसी टी-२० विश्वकपमा सहभागिता जनाउन लागेको नेपाली क्रिकेट टोलीका लागि आजको दिन ऐतिहासिक महत्वको बनेको छ। मुम्बईस्थित प्रतिष्ठित वाङ्खेडे स्टेडियममा नेपालले आफ्नो विश्वकप अभियानको सुरुआत दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डविरुद्ध गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।
नेपालले पहिलो पटक सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो। सो संस्करणमा हङकङ र अफगानिस्तानमाथि जित हात पार्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिचान मजबुत बनाएको थियो। दोस्रो सहभागिता सन् २०२४ मा भए पनि नेपालले तीन खेल खेर्दा जित निकाल्न सकेन। तर बलियो टोली दक्षिण अफ्रिकाविरुद्ध अन्तिम बलसम्म संघर्ष गर्दै केवल एक रनले पराजित भएको खेलले नेपालले विश्व क्रिकेट समुदायको ध्यान आकर्षित गरेको थियो।
यसपटकको विश्वकपमा नेपालले समूह चरणमा चार खेल खेल्नेछ। इङ्ल्यान्ड र दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजजस्ता दिग्गज टोलीसँगै इटाली र स्कटल्यान्ड पनि नेपालका प्रतिस्पर्धी हुन्। सुपर एट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालका लागि कम्तीमा एक बलियो टोलीविरुद्ध ऐतिहासिक जित निकाल्नु चुनौतीपूर्ण भए पनि सम्भावनापूर्ण मानिएको छ।
