बाबुराम भट्टराईलाई पितृशोक, पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा निधन

तु खबर संवाददाता
२०८२ माघ २२, बिहीबार १०:४८

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।

भट्टराईको सचिवालयका अनुसार भोजप्रसाद भट्टराईको आज बिहान ८:१५ बजे बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही दिनयता उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हिजो मात्र न्युरो अस्पतालमा भर्ना गरिएको थियो।

स्वर्गीय भोजप्रसाद भट्टराईको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको छ। अन्त्येष्टि प्रक्रिया बिहान ११ बजे सम्पन्न गरिने जनाइएको छ। केहीबेरमा शव पशुपतिस्थित विद्युतीय शव गृहमा लगिने प्रलोपा नेता रोशन पोखरेलले जानकारी दिएका छन्।

प्रलोपा नेता जन्मदेव जैसीका अनुसार आजै पशुपति आर्यघाटमा अन्त्येष्टि सम्पन्न हुनेछ। स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन्।

भोजप्रसाद भट्टराईको निधनप्रति राजनीतिक दलका नेताहरू, शुभेच्छुक तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।