अमेरिकामा व्यापक हिमपात २० राज्यमा संकटकाल, जनजीवन अस्तव्यस्त

गिरिजा अधिकारी
२०८२ माघ ११, आईतवार २१:२५
तस्बिर : गिरिजा अधिकारी, न्युयोर्क ।

अमेरिकामा आएको शक्तिशाली हिउँदे आँधीका कारण उत्पन्न परिस्थितिसँग जुध्न २० भन्दा बढी राज्यहरूमा संकटकाल घोषणा गरिएको छ। न्यूयोर्क, न्यू जर्सी, पेन्सिलभेनिया, जर्जिया, मेरिल्याण्ड, भर्जिनिया, लुजियाना र केन्टकी लगायतका राज्यहरूमा संकटकाल लागू गरिएको हो।

हाल यी क्षेत्रहरूमा भइरहेको व्यापक हिमपातले जनजीवन कष्टकर बनाएको छ। मौसम पूर्वानुमान सेवाका अनुसार न्यूयोर्क शहरमा १२ इन्च र लोअर हडसन भ्यालीमा १८ इन्चसम्म हिउँ पर्न सक्ने अनुमान छ।

हिमपातका कारण न्यूयोर्क र न्यू जर्सीका प्रमुख विमानस्थलहरूमा २,००० भन्दा बढी उडानहरू रद्द भएका छन्। विशेषगरी फिलाडेल्फिया, वासिङ्टन, न्यूयोर्क र न्यू जर्सीका विमानस्थलहरू बढी प्रभावित छन्। सार्वजनिक यातायातका साधन सबवे र बसहरू सञ्चालनमा रहे तापनि विद्यालयहरू भने बन्द गरिएका छन्। सबै विद्यालयहरूलाई अनलाइनमार्फत कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ। न्यूयोर्क सिटीका मेयर जोहरान मामदानीले भौतिक रूपमा कक्षाहरू सञ्चालन नहुने पुष्टि गरेका छन्।

हिउँ आँधीका कारण अमेरिकाभर ८ लाखभन्दा बढी मानिसहरू विद्युत सेवाबाट वञ्चित भएका छन्। विद्युत अवरोधको सबैभन्दा बढी असर टेनेसी, टेक्सस, लुजियाना र मिसिसिपी राज्यहरूमा परेको छ।

मौसम विभागका अनुसार यो हिमपात सोमबारसम्म जारी रहनेछ र त्यसपछि तापक्रम अझै घट्नेछ। अत्यधिक ठिही र सडकमा जम्ने बरफका कारण उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

न्यूयोर्कमा अत्यधिक चिसोका कारण तीन जनाको मृत्यु भएको छ। न्यूयोर्क प्रहरीका अनुसार शनिबार बिहान ७ देखि ९ बजेको बीचमा ब्रुकलिनमा दुई र म्यानहट्टनमा एक जनाको शव फेला परेको हो।

मृतकहरूको शरीरमा कुनै पनि चोटपटकको चिह्न नभएकाले उनीहरूको मृत्यु प्रतिकूल मौसम र अत्यधिक चिसोका कारण भएको हुन सक्ने प्रहरीको अनुमान छ। मृत्यु हुनेहरूमा थर्ड एभिन्युको फुटपाथमा भेटिएका ६७ वर्षीय पुरुष, ब्रुकलिनको वारेन सडकस्थित एउटा भवनको बाहिरी सिँढीमा भेटिएका ३० वर्षीय पुरुष र ब्रुकलिनकै केनार्सी क्षेत्रमा भेटिएकी ६० वर्षीया महिला रहेका छन्।

मेयर जोहरान मामदानीले शनिबारको जानकारीमूलक सभामा हिउँ मात्र नभई हाडै कपाउने चिसोु प्रमुख चिन्ताको विषय भएको बताउनुभयो। न्यूयोर्कले विगत आठ वर्षयताकै सबैभन्दा लामो र कडा चिसोको सामना गर्दैछ, उनले भने ।

शहरमा तापक्रम खतरनाक स्तरमा झरेपछि कोड ब्लू समेत लागू गरिएको छ। यो व्यवस्था लागू भएसँगै घरबारविहीन मानिसहरूका लागि आश्रयस्थल खोज्ने कार्यलाई तीव्र पारिएको छ। आश्रय खोज्ने जोसुकैलाई पनि सुरक्षित वासस्थान उपलब्ध गराइनेछ। यसका लागि उद्धार टोलीहरू व्यापक रूपमा परिचालन गरिएको छ।

यहाँका सबै अस्पताल र घरबारविहीन सेवा विभागका केन्द्रहरूले सहयोग माग्न आउने कसैलाई पनि नफर्काउने नीति लिएका छन्।