राष्ट्रिय सभामा १८ नयाँ सदस्य निर्वाचित

तु खबर संवाददाता
२०८२ माघ ११, आईतवार २०:४६

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनबाट १८ जना नयाँ सदस्य निर्वाचित भएका छन्। निर्वाचितमध्ये नयाँ, युवा तथा समावेशी प्रतिनिधित्व भएका अनुहार समेटिएका छन्। आगामी फागुन २० गते कार्यकाल सकिन लागेका १९ सदस्यमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था रहेकाले बाँकी १८ पदका लागि आइतबार निर्वाचन भएको हो।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल भएको थियो भने नेकपा माओवादी केन्द्र एक्लै चुनावी मैदानमा उत्रिएको थियो। निर्वाचन परिणामअनुसार गठबन्धनबाट उम्मेदवारी दिएका सबै उम्मेदवार विजयी भएका छन्।

कोशी प्रदेशबाट एमालेकी रोश्नी मेचे र सोमनाथ पोर्तेल तथा कांग्रेसका सुनिलबहादुर थापा निर्वाचित भएका छन्। मधेस प्रदेशबाट एमालेकी रेखाकुमारी झा, कांग्रेसका धर्मेन्द्र पासवान र रञ्जित कर्ण तथा लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर निर्वाचित भएका हुन्। जसपा नेपाल र लोसपाबीच एकीकरणपछि ठाकुर उम्मेदवार बनेका थिए।

बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन्। गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना राष्ट्रिय सभा सदस्य बनेका छन्। केही दलका सांसद तथा स्थानीय तहका प्रतिनिधि मतदानमा अनुपस्थित रहे पनि परिणाममा प्रभाव परेको छैन।

कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा एमाले र लोसपासँग राष्ट्रिय सभाका लागि तालमेल गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार १८ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दिएका थिए।

निर्वाचन बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्पन्न भएको थियो। प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता रहने यस निर्वाचनमा सातै प्रदेशका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख-उपप्रमुख गरी १ हजार ५०६ मतदाता सहभागी छन्।

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ गतेबाट सुरु हुनेछ। निर्वाचित सदस्यहरूमा यसअघि प्रतिनिधिसभामा काम गरिसकेका अनुभवी नेतादेखि पहिलोपटक राष्ट्रिय राजनीतिमा प्रवेश गरेका नयाँ अनुहारसम्म समेटिएका छन्।