महासचिव गुटेरेसद्वारा विश्वव्यापी संकट समाधानका लागि इकोसकको भूमिकामा जोड
संयुक्त राष्ट्रसंघ मुख्यालय, न्युयोर्क ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी रूपमा बढ्दै गएको द्वन्द्व, असमानता र जलवायु संकटको समाधानका लागि आर्थिक तथा सामाजिक परिषद् इकोसकको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
परिषद्को स्थापनाको ८० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कस्थित मुख्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान विश्व एक अत्यन्तै नाजुक मोडमा रहेको र यसका लागि सामूहिक तथा बहुपक्षीय प्रयासको आवश्यकता रहेकोमा जोड दिए ।

इकोसकको ८० औँ वार्षिक उत्सवका क्रममा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित कार्यक्रम । फोटो : संयुक्त राष्ट्रसंघ/म्यानुअल एलियास
महासचिव गुटेरेसले विगत आठ दशकदेखि इकोसकले प्रगतिको इन्जिनको रूपमा काम गरेको स्मरण गर्दै यसले सहश्राब्दी विकास लक्ष्य, सन् २०३० को दिगो विकास एजेन्डा र मानव अधिकारको विश्वव्यापी घोषणापत्र कार्यान्वयनमा पुर्याएको योगदानको प्रशंसा गरे ।
उनले परिषद्ले लैंगिक समानता, महिला सशक्तीकरण र उपनिवेशवाद अन्त्यका क्षेत्रमा खेलेको ऐतिहासिक भूमिकाको चर्चा गर्दै ६,५०० भन्दा बढी गैर-सरकारी संस्थाहरूसँगको सहकार्यले यसलाई थप समावेशी बनाएको उल्लेख गरे ।
सम्बोधनका क्रममा महासचिवले वर्तमान समयमा सैन्य खर्च आकाशिएको तर विकास सहायतामा गिरावट आएको प्रति चिन्ता व्यक्त गरे। उनले प्रविधिको तीव्र विकासले मानवतालाई पछि पार्ने जोखिम बढाएको र जलवायु परिवर्तनका समाधानहरू सोचेअनुरूप अघि नबढेको बताए ।
यी जटिल र जेलिएका समस्याहरूलाई कुनै पनि राष्ट्रले एक्लै समाधान गर्न नसक्ने भन्दै उनले विश्वव्यापी ऐक्यबद्धता र साझा जिम्मेवारीको सिद्धान्तमा आधारित भएर अघि बढ्न अपिल समेत गरे ।
महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय वित्तीय संरचनामा आमूल सुधारको माग गर्दै विकासशील देशहरूको आवश्यकतालाई सम्बोधन गर्ने संयन्त्र बनाउनुपर्नेमा विशेष जोड समेत दिएका छन् । उनले बहुपक्षीय विकास बैंकहरूको ऋण दिने क्षमतालाई तीन गुणा बढाउनुपर्ने, विकासशील देशहरूको ऋणको बोझ कम गर्नुपर्ने र उनीहरूलाई विश्वव्यापी आपूर्ति श्रृङ्खलामा सम्मानजनक स्थान दिनुपर्ने बताए । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा विकासशील राष्ट्रहरूको अर्थपूर्ण सहभागिता हुनुपर्ने उनको तर्क थियो ।
इकोसक विश्व विकासको स्तम्भ : अध्यक्ष लोकबहादुर थापा
संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद् (इकोसक) विश्व विकासको स्तम्भ भएको सो संस्थाका अध्यक्ष एवम् संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बताएका छन् ।
आर्थिक तथा सामाजिक परिषद्को ८० औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष थापाले इकोसकले बहुपक्षीय सहयोगलाई सुदृढ बनाएको समेत बताएका हुन् । यसले साझा र दिगो समाधानहरू पहिल्याउनका लागि समावेशी संवादको भावनाका साथ सदस्य राष्ट्रहरू, बृहत्तर संयुक्त राष्ट्रसंघीय प्रणाली, विज्ञहरू, नागरिक समाज, युवा, शिक्षाविद् र निजी क्षेत्रलाई एक ठाउँमा ल्याएको छ, थापाले भने ।

तस्वीर : संयुक्त राष्ट्र संघ, फोटो/म्यानुअल एलियास
जनवरी २३, २०२६ मा न्युयोर्कस्थित परिषद्को सभाहलमा आयोजित बैठकमा उनले लन्डनमा भएको परिषद्को पहिलो बैठकको स्मरण गर्दै अध्यक्ष थापाले विकास नै शान्तिको आधार भएको उल्लेख गरे ।
गरिबी र भोकमरी रहेसम्म विश्वमा दिगो शान्ति कायम हुन नसक्ने भन्दै थापाले संयुक्त राष्ट्रसंघको बडापत्रले सुम्पेको मानव अधिकार र सामाजिक प्रगतिको जिम्मेवारी अझै उत्तिकै सान्दर्भिक रहेको बताए ।
थापाले वर्तमान विश्वले झेलिरहेको खाद्य असुरक्षा, जलवायु परिवर्तन, बढ्दो ऋण संकट र डिजिटल विभाजन जस्ता गम्भीर चुनौतीहरूबारे बैठकमा चर्चा गरेका छन् । यी जटिल समस्याहरूले बहुपक्षीयतामाथिको विश्वास कमजोर बनाउँदै लगेकोमा उनले चिन्ता व्यक्त गरे ।
विशेष गरी अल्पविकसित देशहरू, भूपरिवेष्ठित विकासोन्मुख देशहरू र साना टापु राष्ट्रहरूको हितका लागि अझ राम्रो परिणाम दिनुपर्नेमा थापाको जोड थियो ।
सदस्य राष्ट्रहरूलाई नेतृत्व र दृढ संकल्पका साथ अघि बढ्न आग्रह गर्दै उनले यो ८० औं वर्षलाई विश्वव्यापी सहकार्यको ‘निर्णायक मोड’ बनाउन आह्वान गरेका छन् ।
कार्यक्रमको समापन सत्रमा समेत आफ्ना भनाइहरू राख्दै अध्यक्ष थापाले सन् २०३० सम्मको दिगो विकास कार्यसूची पूरा गर्न अब थोरै समय मात्र बाँकी रहेको स्मरण गरेका छन् । उनले परिषद्लाई अझ बढी समावेशी र उत्तरदायी बनाउन आफू प्रतिबद्ध रहेको र यस कार्यमा सबै सदस्य राष्ट्रहरूको साथ रहने विश्वास व्यक्त गरे ।
दिगो शान्तिका लागि आर्थिक समृद्धि र समाजिक न्याय अनिवार्य सर्त : महासभाका अध्यक्ष अन्नालेना बेरबोक
संयुक्त राष्ट्र संघको महासभाका अध्यक्ष अन्नालेना बेरबोकले दिगो शान्तिका लागि आर्थिक समृद्धि र सामाजिक न्याय अनिवार्य सर्त रहेको बताएकी छिन् ।
आर्थिक तथा सामाजिक परिषद् स्थापनाको ८० औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भोको पेटले स्वतन्त्रताको रक्षा गर्न नसक्ने तर्क गरिन् ।
अध्यक्ष बेरबोकले संयुक्त राष्ट्र संघको बडापत्रले शान्ति, विकास र मानव अधिकारलाई अविभाज्य मानेको उल्लेख भनिन्, त्यसैले सामाजिक र आर्थिक लक्ष्यहरू पूरा गर्नु केवल नैतिक जिम्मेवारी मात्र होइन, यो विश्वव्यापी स्थिरता र सुरक्षामा गरिएको लगानी पनि हो। उनले विगत ८ दशकमा विश्वले चरम गरिबी निवारण, औसत आयु वृद्धि र साक्षरतामा अभूतपूर्व प्रगति गरेको तथ्याङ्क प्रस्तुत गर्दै यसमा इकोसकको केन्द्रीय भूमिका रहेको बताइन् ।

संयुक्त राष्ट्रसंघ महासभाकी अध्यक्ष अन्नालेना बेरबोक इकोसकको कार्यक्रममा मन्तव्य राख्दै। तस्बिरः संयुक्त राष्ट्रसंघ / म्यानुअल इलियास
विशेष समारोहमा सम्बोधन गर्दै उनले परिषद्का वर्तमान अध्यक्ष एवं नेपाली स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाको सक्रिय नेतृत्वको प्रशंसा समेत गरिन् ।
अध्यक्ष बेरबोकले २१ औं शताब्दीका चुनौतीहरू सन् १९४५ का भन्दा भिन्न रहेको चर्चा गर्दै यस संस्थालाई अझ चुस्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
उनले आर्टिफिसियल इन्टेलिजेन्सजस्ता नवीन प्रविधिले स्वास्थ्य र कृषिमा क्रान्ति ल्याए पनि यसले पुरानो असमानतालाई झनै गहिरो बनाउन नहुने तर्फ सचेत गराएकी छिन् ।
उनले संयुक्त राष्ट्र संघको सामाजिक कार्य कहिल्यै समाप्त नहुने सन्देश समेत दिएकी छिन् ।
अध्यक्ष बेरबोकले आगामी महिनाहरूमा जलवायु परिवर्तन र महिला अधिकारका विषयमा महासभाले विशेष कार्यक्रमहरू गर्ने घोषणा गर्दै दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सबै सदस्य राष्ट्रहरूलाई एकीकृत भएर लाग्न आह्वान समेत गरेकी छिन् ।
बार्षिकोत्सवका अवशरमा बहुपक्षीयताको नवीकरण विषयक एक उच्च स्तरीय अन्तरक्रियात्मक छलफल समेत सम्पन्न भएको छ । साउथ अफ्रिकन ब्रोडकास्टिङ कर्पोरेसनका शेरविन ब्राइसपीसद्वारा सञ्चालित अन्तरक्रियामा मानवीय मामिलाका लागि सहायक महासचिव जोयस मसुया, विश्व बैंककी मारिया दिमित्रियादु, जाइकाका अध्यक्ष अकिहिको तानाका, न्यू इकोनोमिक्स फाउन्डेसनका ड्यानी श्रीस्कन्दराजा र अक्सफोर्डकी विद्वान सरु डकवर्थ वक्ताका रूपमा सहभागी थिए।
सहभागीहरूले साझा संकटहरूका लागि सामूहिक समाधान र बलियो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिएका थिए ।
