महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल आइतबार न्युयोर्क आउने
न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार न्युयोर्क आइपुग्दैछन् ।
यस अघि खनालको नेतृत्वमा महासभामा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने तय भएको भएपनि रसुवा बाढीपछि सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघमा जाने निर्णय गरेको थियो ।
शाहले भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सेप्टेम्बर २४ मा महासभामा सम्बोधन गर्ने तय भएको छ । त्यस अघि परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघमा सहभागी हुनेछ ।
यहाँ परराष्ट्रमन्त्रीले महासभाको उच्चस्तरीय सत्रमा विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रमहरुमा सहभागिता जनाउने छन् । यस अवसरमा विभिन्न देशका परराष्ट्रमन्त्री तथा अन्य विशिष्ठ व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाह भने सेप्टेम्बर २२ मा अमेरिका आउनेछन् । प्रधानमन्त्री शाहसँगै उनका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा अन्य सरकारी अधिकारीहरु प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, १४ जनाको प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको छ । जलवायु परिवर्तनले नेपाललाई पारेको असर र यसको क्षतिपूर्ति लगायतका विषयमा संयुक्त राष्ट्रसंघका विषयहरु उठाइने छ ।
