देउवाको ३४ वर्षे संसदीय यात्रामा पूर्णविराम, डडेल्धुरामा महर उम्मेदवार
काठमाडौं ।नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन । सोमबार उनको सचिवालयले देउवा चुनावी प्रतिस्पर्धामा नरहने आधिकारिक जानकारी दिएसँगै २०४८ सालदेखि निरन्तर संसदमा रहँदै आएका उनको ३४ वर्ष लामो अपराजित संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’ लागेको हो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि सम्पन्न २०४८ सालको निर्वाचनमा डडेल्धुराबाट पहिलोपटक विजयी भई गृहमन्त्री बनेका देउवा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री भएका थिए । त्यसयता २०७९ सम्मका सातवटै निर्वाचनमा अपराजित रहेका उनी यसपटक भने नयाँ राजनीतिक घटनाक्रमका बीच विश्राम लिनेभएका छन ।
विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति बनेपछि उम्मेदवारको टिकटमा उनकै हस्ताक्षर चल्ने भएको छ । देउवा समूहले नयाँ कार्यसमिति अमान्य भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको अवस्थामा उम्मेदवारी दर्ताको अघिल्लो दिन देउवाको यस्तो घोषणा सार्वजनिक भएको हो ।
देउवाले निर्वाचन नलड्ने भएपछि सभापति गगन थापाले डडेल्धुराबाट युवा नेता नैनसिंह महरलाई प्रतिनिधिसभाको टिकट दिएका छन । नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय अध्यक्ष र पार्टीको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका महर बौद्धिक र जुझारु नेताका रूपमा परिचित छन ।
पत्रकारिता र लेखनमा समेत दख्खल राख्ने महरले राजनीति शास्त्रमा स्नातकोत्तर र एलएलबी गरेका छन भने उनका पाँचवटा पुस्तकसमेत प्रकाशित छन् । २०६२/६३ को जनआन्दोलनमा तीन महिना जेल जीवन बिताएका महरले विभिन्न अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेका छन । दशकौँदेखि शेरबहादुर देउवाको गढ मानिएको डडेल्धुरामा उनको राजनीतिक विरासत र कांग्रेसको साख जोगाउने मुख्य जिम्मेवारी अब नैनसिंह महरको काँधमा आएको छ ।
