काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहद्वारा राजीनामा

तु खबर संवाददाता
२०८२ माघ ४, आईतवार २०:२२

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनले आज महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। उपप्रमुखको कार्यालयमा दर्ता भएको उक्त राजीनामा पत्रमा शाहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्।

उपप्रमुख डंगोलले आजै शाहको राजीनामा अभिलेखीकरण गरेकी छिन्। महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर शाह प्रतिनिधिसभाको निर्वाचनमा उठ्ने तयारीमा रहेका छन्।

बालेन्द्र शाहको राजीनामा संगै अब महानगरपालिकाको नेतृत्व कार्यबाहक प्रमुखको रुपमा डंगोलले गर्ने छिन् ।

शाह प्रमुख हुँदा सडकमा तरकारी तथा फलफुल बेचेर गुजारा गर्नेहरुमाथि नगर प्रहरी लगाएर धरपकड गर्ने, तरकारी तथा फलफुल फालिलिने र जफत गर्ने काम गर्ने पछि शाहको विरोध भएको थियो भने टुकुचा लगायतका ठाउँमा गैरकानुनी रुपमा उपयोगमा रहेको जमीन खालि गराएको उनको प्रशंसा भएको थियो ।