जेनजी आन्दोलनका घटनाबारे रमेश लेखक आयोगमा बयान दिन उपस्थित

तु खबर संवाददाता
२०८२ पुष १४, सोमबार १३:१३

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगमा बयान दिन सोमबार उपस्थित भएका छन्। सिंहदरबारस्थित आयोगको कार्यालयमा मध्याह्न लेखक बयानका लागि पुगेका हुन्।

सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आन्दोलनका बेला लेखक गृहमन्त्रीको जिम्मेवारीमा रहेका कारण आयोगले उनीसँग बयान लिन लागेको हो।

आयोगले यसअघि बयानका लागि पत्र पठाउँदै आइतबारसम्म उपस्थित हुन भने पनि लेखक सोमबार आयोगमा पुगेका हुन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। त्यतिबेला प्रधानमन्त्रीको जिम्मेवारी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्हालेका थिए, जससँग पनि आयोगले बयान लिने तयारी गरेको छ।

पूर्वगृहमन्त्री लेखकले आयोगमा बयान दिएपछि पत्रकार सम्मेलन गर्ने बताएका छन्।