खापुङ,दुवाडी र रिजालको स्थानहद तथा विदेश भ्रमण प्रतिबन्ध फुकुवा
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तीन जना पूर्व उच्च पदस्थ अधिकारीको स्थानहद तथा विदेश भ्रमणमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ।
आयोगले मंगलबार सरकारलाई पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ र काठमाडौँ जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालमाथि लगाइएको स्थानहद र विदेश भ्रमणको रोक फुकुवा गरिएको जानकारी गराएको हो।
आयोगबाट गृहमन्त्रालयमा पठाइएको पत्रमा उनीहरूसँग सम्बन्धित पूर्व निर्णयअनुसारको कार्य सम्पन्न भइसकेकाले मिति २०८२/०९/०७ मा स्थानहद तथा विदेश भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको उल्लेख छ। सो निर्णयअनुसार उनीहरू अब आयोगको स्वीकृति बिना काठमाडौँ उपत्यका छाड्न तथा विदेश भ्रमण गर्न पाउने छन्।
यसअघि आयोगले असोज २७ गते दुवाडी, खापुङ र रिजाललाई विदेश भ्रमणमा रोक लगाउँदै आयोगको पूर्व स्वीकृति बिना काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको थियो। दुवाडी र रिजालको हकमा असोज १२ गतेदेखि र खापुङको हकमा कात्तिक २७ गतेदेखि प्रतिबन्ध लागू गरिएको थियो।
आयोगका अनुसार तीनै जनासँग बयान लिइसकिएकाले स्थानहद फुकुवा गरिएको हो। दुवाडी र खापुङसँग आयोगले मंसिर २५ र २६ गते बयान लिएको थियो। खापुङ जेन-जी आन्दोलनका बेला नेपाल प्रहरीका महानिरीक्षक थिए, उक्त आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै आलोचना भएको थियो।
यसअघि गुप्तचर विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकिएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो।
जेन–जी आन्दोलनका क्रममा दमन भएको आरोपमा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत स्थानहद तोकेको थियो। तर उनीहरूको बयान बाँकी रहेकाले हालसम्म उनीहरूको हकमा प्रतिबन्ध फुकुवा गरिएको छैन।
आयोगले जारी गरेको विज्ञप्तिमा भदौ २३-२४ का घटनाको छानबिनका सिलसिलामा अनुसन्धानका लागि लगाइएका प्रतिबन्धहरू क्रमशः फुकुवा गरिँदै गएको जनाएको छ।
