राष्ट्रपति पौडेलले तीन ठूला दलका शीर्ष नेतासँग आज छलफल गर्दै

तु खबर संवाददाता
२०८२ पुष ८, मंगलवार १४:१९
file-photo

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग आज छलफल गर्ने भएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आज अपराह्न ३ बजे हुने छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेताहरूसँग हुन लागेको यस छलफलको औपचारिक एजेन्डाबारे राष्ट्रपति कार्यालयले केही खुलाएको छैन। यद्यपि, फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

राष्ट्रपति पौडेलले यसअघि नै फागुन २१ मै प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्। सोही सन्दर्भमा दुई ठूला दलका प्रमुखसहित तीन शीर्ष नेतासँग राष्ट्रपतिले परामर्श गर्न लागेका हुन्।

राष्ट्रपति र शीर्ष नेताबीचको छलफलले आगामी राजनीतिक प्रक्रियाबारे महत्वपूर्ण संकेत गर्ने अपेक्षा गरिएको छ।