निर्वाचन अन्योलबीच आयोगको पहल, प्रधानमन्त्री र दलहरूसँग छलफल
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र समग्र वातावरणबारे आज निर्णायक छलफल गर्दैछ। प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयुक्त, सुरक्षा निकायका प्रमुख तथा नागरिक समाजका प्रतिनिधिको सहभागितामा छलफल हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठक आगामी निर्वाचनमै केन्द्रित रहनेछ। आयोगले हालसम्मको निर्वाचन तयारी, प्राविधिक पक्ष, आवश्यक सुरक्षा व्यवस्था तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनेछ।
सरकारले निर्वाचनको मिति घोषणा गरे पनि कार्यान्वयनमा पर्याप्त तदारुकता नदेखाएको भन्दै राजनीतिक दलहरूले संशय व्यक्त गरिरहेका बेला आयोगले दलहरूको धारणा बुझ्न र सुझाव संकलन गर्न यो छलफल आयोजना गरेको हो। अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिँदै जाँदा पनि राजनीतिक वृत्तमा अन्योल कायमै रहेको देखिन्छ।
दलहरूले सरकार निर्वाचन टार्ने दाउमा रहेको आरोप लगाउँदै आएका छन् भने समयमै मतदान हुनुपर्ने अडानमा छन्। यही तिक्ततापूर्ण वातावरणबीच हुन लागेको आजको छलफललाई महत्वपूर्ण रूपमा हेरिएको छ।
बैठकमा प्रतिनिधि सभा निर्वाचनसँगै राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका, कानुनी जटिलता तथा निर्वाचन सफल पार्न सरकार र राजनीतिक दलको भूमिकाबारे पनि गम्भीर विमर्श हुने आयोगले जनाएको छ। निर्वाचन आयोगले निष्पक्ष, स्वतन्त्र र समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षको पूर्ण सहयोग आवश्यक रहेको बताएको छ।
