सिंहदरबार छिर्न खोजेको जेनजी समूहलाई प्रहरीद्वारा रोक

तु खबर संवाददाता
२०८२ मंसिर ९, मंगलवार १३:१५

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाउन सिंहदरबार पुगेको जेनजी समूहलाई प्रहरीले मंगलबार रोक लगाएको छ। दिउँसो करीब १२ बजे सिंहदरबार गेटअगाडि जेनजीका नेता मिराज ढुंगानासहित ठूलो संख्यामा भीड जम्मा भएपछि प्रहरी टोलीले निषेधित क्षेत्र उल्लङ्घन गर्न खोजेको भन्दै समूहलाई त्यहाँबाट हटाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेकाले हटाइएको हो। समूहलाई अनामनगरस्थित भाटभटेनी क्षेत्रतिर पनि अघि बढ्न नदिई प्रहरीले परसम्म धकेलेर हटाएको जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठले जेनजीका नाममा आफ्ना परिवारका सदस्यलाई जागिर खुवाएको भन्ने समाचारबारे ध्यानाकर्षण पत्र बुझाउन पुगेको समूह सोमबार प्रधानमन्त्रीलाई भेट्न नपाएको भन्दै मंगलबार पुनः सिंहदरबार पुगेको थियो। भेट नपाएपछि उनीहरूले गेटअगाडि तथा कार्यालय परिसर नजिकै होहल्ला र नाराबाजी गरेका थिए।

प्रहरीले प्रवेश निषेध गर्दै हटाएपछि पनि जेनजी समूह त्यही आसपासमा रहँदै प्रधानमन्त्री तथा सरकारप्रति आलोचनात्मक नाराबाजी गरेका छन्।