आगामी दुई निर्वाचनका लागि नेपाली कांग्रेस दल दर्ता

तु खबर संवाददाता
२०८२ मंसिर ७, आईतवार १६:२८

काठमाडौँ । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ता गराएको छ। आइतबार निर्वाचन आयोगको कार्यालयमा पुगेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आवश्यक सबै प्रक्रिया पूरा गरी दर्ता कार्य सम्पन्न गरिएको जानकारी दिए।

कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउन दल दर्ता गरेको हो। राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन भएकाले कांग्रेसले दर्ता प्रक्रिया पूरा गरेको हो। प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भने मंसिर १० गतेसम्म दल दर्ता खुला छ।

शनिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आगामी आमनिर्वाचनमा जाने निर्णय गर्दै दल दर्ता निवेदन पेश गर्ने जिम्मेवारी मुख्यसचिव पौडेललाई प्रदान गरेको थियो। बैठकमा दियाइएको निर्णय अनुसार दुवै निर्वाचनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी ‘नेपाली कांग्रेस’ नाममा दल दर्ता गराइएको मुख्यसचिव पौडेलले जानकारी दिए।