रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलको ऐतिहासिक जित

तु खबर संवाददाता
२०८२ फाल्गुन २३, शनिबार १४:२६

लामो समयदेखि नेकपा एमालेको बलियो आधार क्षेत्र मानिँदै आएको रुपन्देही निर्वाचन क्षेत्र नम्बर-२ मा यसपटकको प्रतिनिधिसभा निर्वाचनले पुरानो राजनीतिक समीकरण उल्ट्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार सुलभ खरेल भारी मतान्तरसहित विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत मात्र प्राप्त गरे। यसरी खरेलले पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल ९ हजार ३९२ मतसहित तेस्रो स्थानमा रहे भने नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत प्राप्त गरेका छन्।

रुपन्देही-२ लाई लामो समयदेखि एमालेको सुरक्षित निर्वाचन क्षेत्रका रूपमा हेरिँदै आएको थियो। पौडेलले २०६४, २०७०, २०७४ र २०७९ का निर्वाचनमा लगातार विजय हासिल गरेका थिए। २०५६ सालदेखि रुपन्देहीबाट चुनाव लड्दै आएका पौडेल यसपटक भने रास्वपाका युवा उम्मेदवारसँग पराजित भएका छन्।

खरेलको जित रास्वपाका उम्मेदवारहरूले देशभर हासिल गरेका मतान्तरमध्ये पनि उल्लेखनीय मानिएको छ। रुपन्देही-३ मा रास्वपाका डा. लेखजंग थापाले करिब ५० हजार मतान्तरले जित हासिल गरेका छन् भने पार्टी सभापति रवि लामिछाने पनि ठूलो मतान्तरसहित विजयी भएका छन्।

२०५४ साल भदौमा जन्मिएका खरेल बुटवल उपमहानगरपालिका-१६ का स्थायी बासिन्दा हुन्। उनले रुपन्देहीमै एसएलसी उत्तीर्ण गरी विज्ञान विषयमा प्लस टु अध्ययन गरेका थिए। त्यसपछि काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट पाँचवर्षे बीए-एलएलबी पूरा गरी वकालत पेशामा सक्रिय भएका थिए।

कानुनी अभ्यासका क्रममा उनले संवैधानिक तथा सार्वजनिक सरोकारका मुद्दामा सर्वोच्च अदालतमा बहस गर्दै आएका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने मध्ये उनी सबैभन्दा कान्छा निवेदकका रूपमा चर्चामा आएका थिए।

कानुनमा उच्च अध्ययनका लागि उनी अमेरिकाको मिसिगन विश्वविद्यालय पुगेका थिए, जहाँबाट संवैधानिक कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका हुन्। अध्ययन सकेर नेपाल फर्किएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजिकिएका थिए। पार्टी सभापति रवि लामिछानेसँगको निकटता र विभिन्न कानुनी परामर्शका कारण पनि उनी पार्टी नेतृत्वसँग जोडिएका थिए।

रुपन्देही-२ मा सुरुमा रास्वपाले अर्का नेता आशिष सुवेदीलाई टिकट दिने निर्णय गरेको थियो। तर उम्मेदवारी दर्ताको अघिल्लो राति पार्टीले निर्णय परिवर्तन गर्दै खरेललाई उम्मेदवार बनाएको थियो। अन्तिम समयमा टिकट पाएका खरेलले चुनावमा एमालेका प्रभावशाली नेता विष्णु पौडेललाई पराजित गर्दै अप्रत्याशित नतिजा निकाल्न सफल भएका हुन्।

युवा पुस्ताको प्रतिनिधित्व, कानुनी पृष्ठभूमि र ‘परिवर्तन’को एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएका खरेलको जितलाई धेरैले नेपाली राजनीतिमा नयाँ प्रवृत्तिको संकेतका रूपमा विश्लेषण गर्न थालेका छन्। रुपन्देही-२ को यो परिणामले एमाले र कांग्रेसका परम्परागत मत आधारमा पनि ठूलो चुनौती खडा गरेको विश्लेषकहरू बताउँछन्।