एमाले नेता महेश बस्नेतमाथि जेनजी युवाद्वारा रातो मसी प्रहार

तु खबर संवाददाता
२०८२ मंसिर ७, आईतवार १२:४५
file-photo

काठमाडौँ । नेकपा (एमाले) नेता महेश बस्नेत सवार गाडीमाथि आइतबार बिहान विराटनगरमा जेनजी युवाहरूले रातो मसी प्रहार गरेका छन्। युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन विराटनगरबाट सुनसरीतर्फ गइरहेका बस्नेतमाथि एयरपोर्ट लाइनको सडकखण्डमा मसी फ्याँकिएको प्रहरीले जनाएको छ।

विराटनगर विमानस्थलबाट कार्यक्रमस्थलतर्फ लागिरहेका बस्नेतको गाडी गुडिरहेको क्रममा सडक किनारबाट एक युवक दगुर्दै आएर मसी भरिएको लोला फ्याँकेका थिए। सो क्रममा प्रहरी पछिपछि आउँदा भ्यानसहित बस्नेतको गाडी रोकिएको थियो। घटनापछि प्रहरीले तत्कालै दुई युवालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरूलाई प्रहरीले मोरङमै राखेको छ। प्रहरी भ्यानमा राखेर कार्यालयतर्फ लगिँदै गर्दा ती युवाले बस्नेतविरुद्ध नाराबाजीसमेत गरेका थिए।

घटनाप्रति प्रतिक्रिया दिंदै नेता बस्नेतले मसी प्रहारलाई ‘गम्भीर र निन्दनीय’ बताएका छन्। लोकतन्त्रमा विरोध–प्रदर्शनको मर्यादा हुने उल्लेख गर्दै उनले शान्तिपूर्ण तरिकाले सभा–जुलुस गर्ने तथा स्वतन्त्र रूपमा आवतजावत गर्ने अधिकार सबै नागरिकको भएको स्मरण गराए। “आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन,” बस्नेतले भनेका छन्। साथै, उनले घटनापछि प्रहरीले देखाएको तत्परता र कारबाहीको लागि धन्यवाद व्यक्त गरेका छन्।

उनका अनुसार ‘हिंसा होइन, विचार, संवाद र लोकतान्त्रिक अभ्यासमार्फत नै देश अगाडि बढ्छ’ भन्ने आधारमा यस्तो व्यवहार अनुचित र अस्वीकार्य छ।