फागुन २१ को निर्वाचन लक्षित दल दर्ता आज अन्तिम
काठमाडौँ । प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीसंगै निर्वाचन आयोगले आह्वान गरेको राजनीतिक दल दर्ताको समय आज (कात्तिक ३० गते) अन्त्य हुँदैछ। आयोगले तय गरेको कार्यालय समय समाप्त भएपछि नयाँ दल दर्ताको अवधि औपचारिक रूपमा बन्द हुनेछ।फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले जारी गरेको दल दर्ता आह्वान अनुसार नयाँ दल तथा पुनःदर्ता प्रक्रिया आज सकिँदै छ।
यसअघि अन्तरिम सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गतेका लागि घोषणा गरेसँगै आयोगले कार्तिक मसान्तसम्म दल दर्ता गर्न समय दिएको थियो। यस क्रममा दर्ता भएका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता अनिवार्य रूपमा गर्नु पर्नेछ।नयाँ दल दर्ताका लागि आयोगले दलको नाम, दल दर्ता मिति, विधान, पदाधिकारी विवरण लगायतका आवश्यक कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरेको छ।प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। सोही समयावधि आज अन्त्य हुँदैछ।
आयोगका अनुसार हालसम्म आधिकारिकता पाएका दलको संख्या १२६ पुगेको छ। दर्ता प्रक्रिया अघि बढाइरहेका कतिपय दलहरू आजै प्रमाणपत्र प्राप्त गर्ने तयारीमा छन्। समयावधि सकिएपछि नयाँ दलहरूको अन्तिम संख्या आजै टुंगो लाग्नेछ।फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक-तिहाइ सदस्य रिक्त हुने भएकाले सोही रिक्तता पूर्ति गर्न माघ ११ गते निर्वाचन तय गरिएको हो। आयोगले दुवै निर्वाचनका लागि आवश्यक दल दर्ता प्रक्रिया समयमै सम्पन्न गर्ने तयारी गरेको छ।



