पूर्वमन्त्री खड्काको कम्पनीलाई नेपाल स्काउटको चेतावनी

तु खबर संवाददाता
२०८२ कार्तिक २०, बिहीबार ०८:५२
फोटो क्रेडिट : उर्जामन्त्री खड्काको प्रोफाइल

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा र त्यहाँ बनेका संरचनाको बहाल बक्यौता रकम नतिरे पूर्वमन्त्री दीपक खड्काको कम्पनीको सम्पत्ति जफत गर्ने चेतावनी दिएको छ।

नेपाल स्काउटले आज सार्वजनिक सूचना जारी गर्दै लैनचौरस्थित स्काउटको केन्द्रीय कार्यालयको कित्तानम्बर १० मा पर्ने तीन रोपनी जग्गा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले २०५६ सालदेखि भाडामा लिएर सञ्चालन गर्दै आएको जानकारी दिएको छ। तर सम्झौता अवधि २०७५ सालमै समाप्त भए पनि कम्पनीले जग्गा खाली नगरी निरन्तर प्रयोग गरिरहेको स्काउटले जनाएको छ।

सूचनामा भनिएको छ, “सात दिनभित्र बहाल बक्यौता रकम तिर्नु नआएमा नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं. ४ र मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १२, दफा ६१९, ६२०(४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिनेछ। साथै, त्यसबाट पनि रकम नपुगेमा कम्पनीका घरघराना वा जायजेथाबाट असुल उपर गरिनेछ।”

स्काउटका अनुसार भाडा नतिरेर संस्थालाई अपूरणीय क्षति पुगेको छ। त्यसैले सात दिनभित्र बक्यौता तिर्न अन्तिम मौका प्रदान गरिएको सूचनामा उल्लेख गरिएको छ।नेपाल स्काउटले जफतको तयारी समेत अघि बढाएको र उक्त अवधिमा कम्पनीले रकम चुक्ता नगरे कानूनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि यसअघि पनि सो जग्गा विवादमा विवादित रहँदै आएको थियो।

Scout-(1)-1762395672.jpg