आयोग र राजनीतिक दलबीच आज फागुन २१ को निर्वाचन तयारीबारे छलफल

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आयोगले बिहान साढे ११ बजे आफ्नो कार्यालय कान्तिपथमा बैठक आयोजना गरेको हो ।
निर्वाचन आयोगका अनुसार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ वटा राजनीतिक दलहरूलाई छलफलका लागि आमन्त्रण गरिएको छ । आयोगले दलका प्रमुख वा प्रतिनिधि पठाउन पत्राचार गरेको जनाएको छ ।
आयोगले निर्वाचनसम्बन्धी प्रशासनिक काम, तालिका र तयारीबारे जानकारी दिने र दलहरूबाट सुझाव संकलन गर्ने उद्देश्यले छलफल आयोजना गरेको बताएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय अन्तरिम सरकारले गरेको हो ।
यसैबीच, निर्वाचन आयोगले नयाँ राजनीतिक दलहरूलाई निर्वाचनमा सहभागी हुन चाहने भए कात्तिक मसान्तभित्र दल दर्ता प्रक्रिया पूरा गरी प्रमाणपत्र लिन अनुरोध गरेको छ ।