नेविसंघद्वारा मेयर बालेन र सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ।
गत भदौ २३ र २४ गते जेनजी युवा आन्दोलनका क्रममा भएका अप्रिय घटनामा उनीहरू संलग्न रहेको आरोप लगाउँदै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा किटानी जाहेरी दिएको हो।
नेविसंघका अनुसार सो आन्दोलनमा शाह र गुरुङले विद्यालय पोसाकमै विद्यार्थीहरूलाई आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदामा क्षति पुर्याउने गरी आगजनी र तोडफोड गराएको, साथै सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप उजुरीमा उल्लेख गरिएको छ।
नेविसंघका केन्द्रीय सदस्य मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले उजुरी दर्ता गराएका हुन्। उनीहरूले २४ घण्टाभित्र जाहेरी दर्ता गरी पक्राउ प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।
प्रहरीले उजुरी प्राप्त भइसकेको र कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको जनाएको नेविसंघले जनाएको छ।
यसअघि सुदन गुरुङसहितका युवाहरूले आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतका विरुद्ध पनि जाहेरी दिएका थिए। त्यस्तै, नेकपा एमाले निकट अनेरास्ववियुले समेत बालेन र सुदनविरुद्ध उजुरी दर्ता गरेका थिए।
