राष्ट्रपति पौडेल र जेनजीबीचको छलफल स्थगित, अब सोमबार हुने

तु खबर संवाददाता
२०८२ आश्विन २५, शनिबार १२:०७
file-photo

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको छ। आज (शनिबार) शीतलनिवासमा तय गरिएको बैठक राष्ट्रपति पौडेल अस्वस्थ भएपछि स्थगित गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। अब उक्त छलफल सोमबार अपराह्न ३ बजे हुने भएको छ।

राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिहरूबीच हुने भनिएको छलफल मन्त्रीपरिषद् विस्तारका विषयमा अन्तिम सहमति जुटाउने उद्देश्यले तय गरिएको थियो।

आजको छलफलका लागि जेनजीका समूहहरू शीतलनिवासमा भेला भएका थिए। हिजो मात्रै जेनजीबाट चार जना मन्त्री बन्ने नाम सार्वजनिक भएपछि मिराज ढुंगानाको नेतृत्वमा रहेको समूह असन्तुष्ट बनेको थियो। आजको बैठकले उक्त विवाद समाधान गर्दै मन्त्रिपरिषद् विस्तारको अन्तिम रूपरेखा तय गर्ने अपेक्षा गरिएको थियो।

प्रधानमन्त्री कार्कीले मन्त्रीपरिषद् विस्तारका क्रममा जेनजीसँग अन्तिम चरणको परामर्श गरिरहेकी छन्। सोमबारको बैठकमा जेनजीका मिराज ढुंगाना र सुधन गुरुङ समूहका प्रतिनिधिहरू सहभागी हुने तयारी भएको बताइएको छ।