जेन–जी आन्दोलन दमन: ओलीसहित पाँच जनाको विदेश यात्रा रोक

काठमाडौं । जेन–जी आन्दोलन दमनबारे छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।
आयोगको सिफारिसअनुसार एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल विदेश भ्रमणमा जान नपाउने भएका छन्।
आयोगले उनीहरूलाई अनुसन्धानको दायरामा रहेको भन्दै अब उपत्यकाबाहिर जान पनि आयोगको स्वीकृति आवश्यक हुने व्यवस्था गर्न आग्रह गरेको छ ।
जेन–जी आन्दोलनमा अस्वाभाविक बल प्रयोग भएको आशंकामा उनीहरूविरुद्ध अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।