कारागार तोडफोडपछि ८ हजार कैदीबन्दी अझै फरार
काठमाडौं । जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोडपछि भागेका कैदीबन्दीमध्ये अझै ८ हजारभन्दा बढी फरार रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार भदौ २३ र २४ गते भएको प्रदर्शनका कारण देशभरका २७ कारागारबाट २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए ।
त्यसैगरी, १ हजार ४२२ मध्ये ९६४ जना बालसुधारगृहका कैदीबन्दी भागेका थिए । विभागका तथ्यांकअनुसार हालसम्म ५ हजार ४९५ कैदीबन्दी र २४४ बालसुधारगृहका बन्दी फिर्ता आइसकेका छन् । तर अझै ८ हजार ३७५ जना (७ हजार ७५३ कारागारतर्फ र ६२२ बालसुधारगृहतर्फ) फरार रहेका विभागले जनाएको छ ।
नेपाल प्रहरीले पनि भागेकामध्ये केहीलाई नियन्त्रणमा लिइसकेको तर अझै ठूलो संख्यामा कैदीबन्दी फरार रहेको जानकारी दिएको छ । प्रहरीका अनुसार हालसम्म कारागारतर्फ ५ हजार ८३८ र बालसुधारगृहतर्फ ३४१ गरी जम्मा ६ हजार १७९ जना फर्किएका छन् ।
विभाग र सुरक्षासंस्थाले फरार कैदीबन्दीहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएका छन् ।
