सुशीला कार्कीले पदभार ग्रहण, अन्तरिम सरकारको पहिलो महिला नेतृत्व

तु खबर संवाददाता
२०८२ भाद्र २९, आईतवार ११:५२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्दै औपचारिक कार्यकाल सुरु गरेकी छन् ।

जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार कार्कीलाई मुलुकको ४२औँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका थिए । उनी सिंहदरबार पुग्दा कर्मचारीहरूले स्वागत गरेका थिए ।

प्रधानमन्त्री कार्यालय रहेको पुरानो भवनमा आन्दोलनकारीले आगजनी गरी क्षति पुर्‍याएपछि त्यहाँबाट कार्यसम्पादन गर्न कठिन भएको कारण नयाँ भवनमा कार्यकक्ष तयार गरिएको हो ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई गत शुक्रबार नै प्रधानमन्त्रीमा नियुक्त गरिएको भए पनि शपथग्रहण राति अबेर सम्पन्न भएकाले तत्काल पदभार ग्रहण प्रक्रिया रोकिएको थियो ।

यससँगै देशले पहिलोपटक अन्तरिम सरकारको नेतृत्व एक महिला व्यक्तिले गर्ने अवसर पाएको छ ।