देशभर नेपाली सेना परिचालन, शान्ति सुरक्षा कायम गर्न अपिल
काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै हालैका अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरूले शान्ति पुनःस्थापना, अपराध नियन्त्रण र कानूनी शासन कायम गर्न सबै नागरिकलाई सहयोग गर्न अपिल गरेका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शान्तिपूर्ण समाधानतर्फ सबैलाई अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैं प्रतिबद्ध रहेको स्मरण गराउँदै असहज परिस्थितिमा थप क्षति हुन नदिन संयमता अपनाउन आग्रह गर्नुभयो ।
हिजो साँझ १० बजेदेखि देशभर शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ । सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै चोक र गल्लीमा देखिएका सर्वसाधारणलाई घर फर्काइरहेको छ । तर, अत्यावश्यक सेवामा संलग्नलाई परिचयपत्रको आधारमा सहजै कार्यालय पुग्न दिइएको बताइएको छ ।
काठमाडौंमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र फोहोर हटाउने कार्यमा काठमाडौं महानगरपालिका सक्रिय भएको छ । आज बिहानैदेखि पुरानो बानेश्वर, नयाँ बानेश्वर, पुतली सडक र सिंहदरबार क्षेत्रमा सामान्य आवतजावत देखिए पनि उपत्यकाको अधिकांश सडक र गल्लीमा नेपाली सेनाले गस्ती सञ्चालन गरिरहेको छ ।
सेनाले अनावश्यक भिडभाड नगर्न आग्रह गर्दै घरमै सुरक्षित बस्न सर्वसाधारणलाई अपिल गरेको छ । केही स्थानमा अटेरी गर्ने व्यक्तिहरूलाई सेनाले नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ पठाएको पनि जानकारी आएको छ ।
देशको सबैभन्दा ठूलो प्रशासनिक क्षेत्र सिंहदरबारमा समेत सेनाले दमकल प्रयोग गरेर आगो निभाउने प्रयास जारी राखेको छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै नेपाली सेनाले मुलुकको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई कायम राख्दै नागरिकलाई सुरक्षा दिइरहेको जनाएको छ ।
