बानेश्वरमा कर्फ्यूपछि सेना परिचालन

तु खबर संवाददाता
२०८२ भाद्र २३, सोमबार १३:३१

काठमाडौं । जेनजी युवाहरूको आन्दोलन उग्र बनेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरी सेना समेत परिचालन गरिएको छ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशभर व्याप्त भ्रष्टाचार, बेथिति र नेतासन्तानहरूको विलासी जीवनशैलीविरुद्ध सोमबारदेखि सुरु भएको जेनजीको प्रदर्शन क्रमशः उग्र बन्दै गएको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवनभित्र प्रवेश गरेपछि अवस्था नियन्त्रण बाहिर जाने संकेत देखिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।

कर्फ्यू जारीसँगै सेना समेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जारी सूचनाअनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू लागू हुनेछ।

प्रदर्शनले राजधानीलाई तनावग्रस्त बनाएको छ भने प्रशासनले सर्वसाधारणलाई कर्फ्यू तोडेर बाहिर ननिस्कन आग्रह गरेको छ।