माइतीघरमा जेन–जीको बिद्रोह : भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध सडकमा युवा

तु खबर संवाददाता
२०८२ भाद्र २३, सोमबार ०९:२१

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन–जी)ले देशभर प्रदर्शन सुरु गरेका छन् । जेन–जी पुस्ताले सोमबार बिहान ११ बजेदेखि काठमाडौंको माइतीघर मण्डलामा सरकारको बेथिति, भ्रष्टाचार र सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरेका हुन् ।

स्थानीय प्रशासनले अनुमति दिएको यो आन्दोलनलाई आयोजकहरूले शान्तिपूर्ण र कानुनी बनाइने बताएका छन् । उनीहरूले विज्ञप्ति जारी गर्दै भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने उद्देश्य प्रष्ट पारेका छन् ।

१३ देखि २८ वर्षसम्मका युवाहरू प्रविधि र सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै आएका थिए । तर, केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय गरेपछि उनीहरू सडकमा ओर्लन बाध्य भएको आयोजक सबल गौतम र पुरुषोत्तम यादवले जनाएका छन् ।

जेन–जीले आन्दोलनलाई रचनात्मक बनाउन सुरुवातमै प्रहरीलाई फूल दिने कार्यक्रम राखेका छन् । हिंसा, तोडफोड वा अव्यवस्था नगरी शान्तिपूर्ण तरिकाले शक्ति, एकता र सत्यका आधारमा आन्दोलन अघि बढाइने उनीहरूको भनाइ छ ।

फेसबुकमा ‘नेक्स्ट जेन नेपाल’ नामक समूह बनाएर युवाहरूलाई ‘जेन–जी मुभमेन्ट’मा सहभागी हुन आह्वान गरिएको छ । काठमाडौं मात्र नभई पोखरा, चितवन, वीरगञ्ज, भैरहवा, विराटनगर र झापामा पनि बिहान ९ बजेदेखि प्रदर्शन सुरु भएको छ ।

आन्दोलनलाई काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह, पठाओका सीइओ असीममानसिंह बस्नेत, निर्माता निश्चल बस्नेत, नायक अनमोल केसी र गायक प्रकाश सपुतलगायतले खुलेर समर्थन जनाएका छन् । यसरी व्यापक समर्थन पाएपछि आन्दोलनको महत्व झन् बढ्दै गएको छ ।

यो जनदबाबका कारण सत्तारूढ दल नेपाली कांग्रेस नै निर्णयबाट पछि हट्ने अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।