लिपुलेक सम्झौताविरुद्ध प्रदर्शन, सांसद र दलहरूको साझा आपत्ति
काठमाडौँ । भारत र चीनबीच नेपाललाई कुनै जानकारी नदीइ लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्ने सहमतिको विरोधमा बिहीबार राजधानीमा विभिन्न संगठन र युवाहरूले प्रदर्शन गरेका छन् ।
अनेरास्ववियुले भारतीय दूतावास अगाडि मसाल जुलुससहित विरोध प्रदर्शन गर्दा माइतीघर मण्डलामा स्वतन्त्र युवा समूहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङको पुत्ला दहन गर्दै आपत्ति जनाएका छन ।
प्रतिनिधिसभामा दलका नेताहरूले पनि सहमतिको विरोध गर्दै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि आघात गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए । नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले नेपालको स्वीकृतिविनै भएको व्यापार सम्झौता राष्ट्रियतामाथि प्रहार भएको बताइन् भने महामन्त्री गगन थापाले यसलाई घरेलु राजनीतिको विषय नबनाई साझा सन्देश दिन सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग भएको उल्लेख गर्दै चीन–भारत सम्झौतामा एमालेको असहमति रहेको प्रष्ट पारे । एमाले सांसद ठाकुर गैरेले ऐतिहासिक तथ्य र प्रमाणहरूले नेपालको दाबी पुष्टि गर्ने भन्दै दुई छिमेकीलाई सहमतिबाट फिर्ता हुनुपर्ने माग गरे ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सम्झौताले नेपाल आमालाई दुखाएको भन्दै सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले नेपालले आफ्नो भूभागको संरक्षणमा दृढ रहनुपर्ने बताए ।
सांसदहरूले एक स्वरमा भारत–चीन सम्झौता अस्वीकार गर्दै नेपाल सरकारलाई तत्काल ठोस कूटनीतिक पहल गर्न आग्रह गरेका छन् ।
