बागमतीमा सेटिङको बजेट सच्याउन माओवादीसमेतका दलको माग

तु खबर संवाददाता
२०८२ असार १७, मंगलवार ०८:०५

हेटौंडा । बागमती प्रदेशमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा तीब्र विवाद देखिएको छ । पटक पटक सारिएको बैठक अब १९ गतेलाई बस्ने गरी सरेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने माओवादीसमेतका ३ दलले सेटिङको बजेट सच्याउन माग गरेका छन्, अन्यता मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार एक संयुक्त वक्त्वय जारी गर्दै बजेट सच्याउन अन्यथा सरकारले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ ।

असार १ गते नै आर्थिक मामिला मन्त्री र सचिवबीचको विवाद भएपछि मन्त्रालयहरुबीच नै समन्वयको अभाव देखिएको विज्ञप्त्ीमा उल्लेख छ । जसका कारण सो दिन निर्धारित समयभित्र बजेट आउन नसकेको पनि विज्ञप्तीमा स्मरण गरिएको छ । सरकार बजेट निर्माणमा पुर्णतः असफल भएको आरोप ३ राजनीतिक दलहरुले लगाएका छन् ।

उनीहरुले बजेटमा गम्भीर नीतिगत त्रुटि रहेको, यो असन्तुलित, बिभेदकारी र ‘सेटिङ्ग’ मा आधारित भएको दाबी गरेका छन् ।

यसअघि आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको कार्यशैलीका कारण धरै समस्याहरु सतहमा आएका थिए । हुन् त रकमान्तरका समयमा पनि मन्त्री काफ्लेले योजना बार्गेनिङ गरेको आरोप थियो ।

बजेट निर्माणका बेला आफ्नै सचिवसँग लफडा गरेर बसेका मन्त्री काफ्लेले सन्तुलित र स्पष्ट बजेट ल्याउन सकेनन् । उनी आफैले खारेज गर्ने घोषणा गरेका संरचनाहरुलाई बजेट व्यवस्था गरेको पाइएको छ ।