ग्यास विस्फोट घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा परेर मृत्यु हुनेको संख्या ४ पुगेको छ । ग्यास विस्फोटमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ पुगेको हो ।
मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेको काठमाडौं जिल्ला परिसरले जनाएको छ ।
प्रहरीका अनुसार, उनको गएराति करिब पौने १२ बजेको समयमा मृत्यु भएको हो । यसअघि शुक्रबार उपचाररत उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।
उक्त विस्फोटमा परी १४ जना घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते भएका ११ जनाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।
घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ ।
यसअघि मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा नै मृत्यु भएको थियो ।
अन्य घाइतेहरुको उपचार कार्य जारी रहेको छ ।
