हेटौंडामा सूचनाको हकको व्यवहारिक कार्यान्वयन सम्बन्धी राष्ट्रिय कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सूचनाको हकको व्यवहारिक कार्यान्वयन सम्बन्धी सरोकारवालाको भूमिका विषयक राष्ट्रिय कार्यक्रम सम्पन्न भएको छ ।
‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने उद्देश्यले सूचनाको हकका लागि राष्ट्रिय महासंघले शनिबार कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम महासंघका अध्यक्ष उमीद प्रसाद बागचन्दको सभाध्यक्षता तथा राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त डा.सुरेश आचार्यको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोलदै प्रमुख आयुक्त आचार्यले सूचना माग्ने पक्षको नियत सही हुनुपर्ने बताए ।
पछिल्लो समय एउटा उद्देश्यको लागि सुचना माग गरेर अर्को प्रयोजनाको निम्ति सुचना प्रयोग हुने प्रवृत्ति बढ्दै गइरहेको बताउँदै उनले नागरिकको अधिकार कुण्ठित गर्ने काम नगर्न आग्रह गरे ।
कार्यालयहरुले २० वर्ष भन्दा अगाडिको सूचना पनि आवश्यक रुपमा दिनुपर्ने भन्दै उनले कार्यालयहरुको आफ्ना सूचना अधिकारीहरु पनि समय–समयमा अद्यावधिक गर्नुपर्नेमा बताए ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले स्थानीय तहमा गरिएको सूचनाको हक कार्यान्वयन परीक्षण र राष्ट्रिय जन वकालत मञ्च नेपालका अनुसन्धानकर्ता भोला भट्टराईले सीमान्तकृत चेपाङ समुदायको सामाजिक, आर्थिक, साँस्कृतिक अधिकारका लागि सूचना र संचार क्षेत्रको भूमिकाबारे प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा आन्तरिक तथा कानुन मन्त्रालय बागमती प्रदेश सुचना महाशाखा प्रमुख हरिहर पोखरेल, बागमती प्रदेश सरकार पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
