हेटौंडामा अक्षय कोष स्थापनाका लागि महायज्ञको आयोजना हुँदै
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, सिचाईँ टोलस्थित हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव हुँदैछ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी फागुन १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव हुन लागेको जानकारी गराएको हो ।
महायज्ञ ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरको आयोजनामा हुन लागेको अध्यक्ष इन्दिरा न्यौपानेले बताइन् । पछिल्लो समय आर्थिक मन्दीको कारण बालगृह सञ्चालनमा समस्या हुने अवस्था आएपछि यसको दिगोपनाको लागि धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको उनको भनाई छ ।
जसनुसार, फागुन १ गते बिहान ८ बजे गोरक्षश्वर मन्दिर (राप्तीतट) बाट कलशयात्रा गरि सप्ताहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा युवा पण्डित रामचन्द्र तिमल्सिना र हरिचन्द्र तिमल्सिनाबाट कथा वाचन हुने जनाइएको छ ।
यस्तै, ८ जना बालबालिका राखेर २०६५ सालदेखि सुरु गरिएको बालगृहमा अहिले २७ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।
