नेपाल जेसीज वर्ष २०२५ को जनसम्पर्क अधिकारीमा पुडासैनी मनोनित

तु खबर संवाददाता
२०८१ माघ २५, शुक्रबार १२:४४

हेटौंडा । मकवानपुरगढी जेसीज वर्ष २०२४ का अध्यक्ष विजय पुडासैनी नेपाल जेसीजको जनसम्पर्क अधिकारी पदमा मनोनित भएका छन् ।
नेपाल जेसीज वर्ष २०२५ की अध्यक्ष रजनी थापाले पुडासैनीलाई जनसम्पर्क अधिकारी मनोनित गरेकी हुन् ।

नेपाल जेसीजको १८४ शाखासँग जनसम्पर्क बढाउने उद्देश्यका साथ पुडासैनीलाई जिम्मेवारी दिइएको नेपाल जेसीजले जनाएको छ ।

जेसीजकोे ध्येय र लक्ष्य प्राप्तिका लागी जेसीजको आधार स्तम्भ जेसीज आस्थालाई आफ्नो अनुशासन बनाई विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वको भावनालाई आत्मसाथ गर्दै युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशिलताको विकास संगसंगै समाजमा सक्रिय नागरिकहरुको नेतृत्वदायी भुमिका निर्वाह गर्न पुडासैनीले महत्वपूर्ण भूमिका निर्वाह गरेको मनोनयन पत्रमा उल्लेख छ ।

पुडासैनीले जेसीज अभियानलाई सार्थक परिणामसहित उच्च स्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष थापाले विश्वाससमेत व्यक्त गरिन् ।
आफुलाई मनोनित गरेकोमा आभार व्यक्त गर्दै जेसीज अभियानलाई सार्थकता दिन आफुले पहल गर्ने पुडासैनीले बताए ।

पुडासैनीको नेतृत्वमा छोटो समयमा मकवानपुरगढी जेसीजले जनहितका कार्यमा उल्लेखनीय काम गरेको थियो । आर्थिक अवस्था न्यून भएका जनताको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा मकवानपुरगढी जेसीजले पहुँच बढाउन महत्वपूर्ण सहयोग पुर्याएको थियो । समाजमा जनचेता जगाउने, आपसी सद्भाव बढाउनेलगायतका कार्य मात्रै नभई स्थानीय पर्यटन प्रर्वद्धन र खेल क्षेत्रको विकासमा समेत योगदान पुर्याएको थियो ।