अवैध लागूऔषधसहित १२ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले विभिन्न जिल्लाबाट १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, कपिलवस्तु, डाटी, झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर १ सय १० मिलिग्रामसहित बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ बस्ने २३ वर्षीय भरत सन्ज्याल रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्र परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका–२ पहाड रोडबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय मिलिग्रामसहित सोही नगरपालिका–२ तेघरी बस्ने २२ वर्षीय धिरज बलायरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट बुधबार अवैध लागूऔषध खैरो हेरोइन १ सय ३० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ डेरा गरी बस्ने गोदावरी नगरपालिका–२ घर भएकी २२ वर्षीय रिया भन्ने बिष्ना पाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ मडाहाबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ९० मिलिग्रामसहित बुधबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ चन्द्रौटा बस्ने ४४ वर्षीय बसन्त कुमार न्यौपाने रहेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले लु.३७ प ५१०९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, डोटीको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारबाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय २० मिलिग्रामसहित बुधबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–२ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध आदर्श गाउँपालिका–५ बस्ने २२ वर्षीय दिनेश रोकायासँग खरिद गरेको भन्ने खुल्न आएपश्चात उनको खोजी गर्ने क्रममा दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला डेरा गरी बस्ने १९ वर्षीय अर्जुन बोहराको कोठामा फेला पारी दिनेश र अर्जुनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
उता, झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ पथरी शनिश्चरे नगरपालिका–६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ती आङ्देम्बे (भुजेल) रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम २ सय मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने २५ वर्षीय निशान चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०५४ प ९८८९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त परीणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–४ आँपगाछीस्थित कोशोलोक मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर १६ ग्राम ५ सय ६० मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा, धनकुटा नगरपालिका–४ देब्रे बस्ने २३ वर्षीय रोशन श्रेष्ठ र २४ वर्षीय निरज घिमिरे रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले बागमती प्रदेश–०२–०३५ प १५३४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त परीणामको लागूऔषधसहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
