करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौं । करेन्ट लागेर दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ । रुपन्देही र धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर रूपन्देहीको मर्चवारी गाउँपालिका–३ मधुबनिया बस्ने ४६ वर्षीय विनोद यादवको बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित तरकारी बारीमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
यस्तै, धनुषाको शहीदनगर नगरपालिका–२ चोराकोयलपुर बस्ने ३८ वर्षीय मनोज चोरवारको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । घाइते उनको गोदावरी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
