दोश्रो राष्ट्रिय नवसर्जक उत्सव २०८१ फागुनमा
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दोश्रो राष्ट्रिय नवसर्जक उत्सव २०८१ हुने भएको छ । देशभरका युवा–युवती, किशोर–किशोरी एवम् हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालय तहका बालबालिकाको सहभागितामा उक्त उत्सव हुने भएको हो ।
उत्सव नवसर्जक साहित्य चौतारी नेपाल, मकवानपुरको आयोजनामा हुन लागेको हो । हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालय तथा भुटनदेवी माध्यमिक विद्यालयको मुख्य आर्थिक व्यवस्थापन एवम् निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन, प्याब्सन मकवानपुर लगायतको संस्थाको सहकार्यमा उत्सव हुन लागेको हो ।
आयोजकले पत्रकारसम्मेलनमार्फत् आगामी फागुन ९ र १० गते सो उत्सवको आयोजना गर्न लागेको जानकारी गराएको हो । साहित्य उत्सवमार्फत् प्रदेशको विगतदेखिको पहिचानलाई थप नयाँ उचाइमा पुर्याउने, नवसर्जकहरु उत्पादन गर्ने तथा पठन तथा लेखन सँस्कृतिको विकास गर्ने प्रमुख उद्देश्यका साथ उत्सवको आयोजना गर्न लागिएको संस्थाका संरक्षक दीपक गौतमले जानकारी दिए ।
कार्यक्रममा २५ वर्ष उमेर समूहभन्दा मुनिका नवसर्जक विद्यार्थी, शिक्षक र साहित्यकार गरी ४ सय जनाको उपस्थिति रहने अनुमान गरिएको उनको भनाई छ । उनका अनुसार, उत्सवको पहिलो दिन फागुन ९ गते मुक्तक, गजल, लोक लयका कविता, चित्रकला लेखन लगायत विभिन्न ८ विधामा सिर्जनात्मक लेखन कार्यशाला हुनेछन् ।
यसैगरी, दोश्रो दिन १० गते बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोेगिता तथा रचना वाचन कार्यक्रम हुने संरक्षक गौतमले बताए । त्यस्तै, उत्सवमा राष्ट्रव्यापी नवसर्जक गजल प्रतियोगितामा उत्कृष्ट ३ जनालाई नगद ७ हजार राशीको पुरस्कार, ७ प्रदेशका ७ नवसर्जक प्रतिभालाई ७ हजार ७ सय ७७ रुपैँया राशीको सम्मान र एकजना अग्रज बालसाहित्य सर्जक वा अभियन्तलाई १५ हजार ५ सय ५५ नगद राशीको सम्मान दिइने संस्थाका अध्यक्ष गौतले बताए ।
यस संस्थाले यसअघि २०७७ जेठ २८ मा प्रथम पटक पहिलो राष्ट्रिय बाल उत्सवको आयोजना गरको थियो ।
