आजदेखि देशभर एचपीभी खोप अभियान सुरु

तु खबर संवाददाता
२०८१ माघ २२, मंगलवार ०९:४४
file-photo

काठमाडौं । सरकारले आजदेखि देशभर एचपीभी खोप अभियान सुरु हुँदैछ । उक्त अभियान आगामी फागुन ६ गते अर्थात १५ दिनसम्म जारी रहने स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइने शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार, १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएकोछ । यसका लागि २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ ।

सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदै छ । उक्त खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिएको जनाइएको छ ।