अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० खैरे खोलाबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलो ४ सय ५ ग्रामसहित प्रहरीले बुधबार तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका(२० बस्ने ३४ वर्षीय कमल राई, २३ वर्षीय प्रदिप राई र धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २० वर्षीय राजु विश्वकर्मा रहेका छन् ।
उनीहरुलाई अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ज ३१५८ नम्बरको पिकअपबाट ४ वटा बोरामा रहेको उक्त गाँजा फेला पारी चालक कमल, सहचालक राजु र पिकअपमा सवार प्रदिपलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
