मकवानपुरमा बाघले ७ वटा बाख्रा मार्यो
मकवानपुर । मकवानपुरमा बाघले ७ वटा बाख्रा मारेको छ। जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ५ बसन्तपुरमा बाघले ७ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, विहान ५ बजेको समयमा स्थानीय सूर्यबहादुर मोक्तानको घर नजिकै रहेको बाख्राको खोरमा ७ वटा बाख्रा मारेर सोहीमध्ये १ वटा बाख्रा बाघले नै जंगलतर्फ लिई गएको भनि उक्त वडाका अध्यक्षले प्रहरीलाई साढे ९ बजे जानकारी गराएका थिए । प्राप्त जानकारी अनुसार प्रहरी घटनास्थल पुगेर पुष्टि गरेको हो ।
हाल प्रहरी नायव निरीक्षक दिलिप पासवानको कमाण्डमा टोली खटिगएको र बाघलाई नियन्त्रणमा लिनका लागि पर्सा बन्यजन्तु आरक्षणबाट २ वटा हात्ती र नेपाली सेनाका मेजर ढलक बहादुर मोक्तान, चितवन राष्ट्रिय निकुञ्जबाट टोली खटिएको जनाइएको छ ।
बाघले आतंक मच्चाएपछि स्थानीयहरु त्रसित भएका छन् । बाघको आक्रमणबाट आइतबार मात्रै स्थानीय एक वृद्धाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ७२ वर्षीया कान्छिमाया रुम्बा रहेकी छन् । उनलाई बारीमा घाँस काट्न जाँदा बाघले आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
