मकवानपुर प्रहरीद्वारा गाँजा खेती फडानी
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको लागूऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको छ । प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत दुई पालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा खेती आइतबार फडानी गरी नष्ट गरेको मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिन बाबु अर्यालको कमाण्डमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल नं.१४ गण हेड क्वाटर मकवानपुरबाट २५ जना गरी जम्मा ३६ जनाको संयुक्त रुपमा खाटिएको टोलीले गाँजा खेती फडानी गरी नष्ट गरिएको मकवानपुरका प्रहरी निरीक्षक सापकोटाले बताए ।
प्रहरी निरीक्षक सापकोटाका अनुसार, थाहा नगरापलिका वडा नम्वर ७ को चिसापानी, चल्तीदोभान, गैरीगाउँ, डाँडाबास र थाहा ननगरपालिका वडा नम्वर ८ को भोर्ले, मोरिया, खानीगाँउ, ऐसेलुखर्क, दामगडेडाँडालगायतको स्थानमा गरी अन्दाजी १० कठ्ठा जमिनमा लगाएको गाँजा खेती फडानी गरिएको हो ।
यसैगरी, कैलाश गाउँपालिका–९ गैरीखेत, टिमुरेमा अन्दाजी १ बिघा १० कठ्ठा र कैला गाउँपालिका–१०, भालदमार, सालनी र बेतेघारीमा अन्दाजी १ बिघा १० कठ्ठामा लगाइएको गाँजा फडानी गरेको प्रहरी निरीक्षक सापकोटाले बताए ।
