धनुषामा गाडेको अवस्थामा महिलाको शव फेला, श्रीमान् पक्राउ
धनुषा । धनुषामा ठाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको मिथिला नगरपालिका–३, हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको शव गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडी गाडेको अवस्थामा फेला परेको हो । घरायसी बिबादमा श्रीमान दशैयाले श्रीमतीको हत्या गरेको स्वीकारेका छन् ।
श्रीमान दशैयाकै बयान अनुसार श्रीमती रेशमीको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक रेशमीकी बुहारीले प्रहरीलाई दिएको बयान अनुसार दिउँसो १२ बजेसम्म श्रीमान् र श्रीमतीबीच झगडा भइरहेको थियो ।
दशैया मदिराले लठ्ठिएका थिए । साँझ दशैयाले बुहारीसँग खाना मागे । त्यसपछि उनले सासु खै ? भनेर सोधिन् । बुहारीको प्रश्नमा दशैयाले शंकास्पद जवाफ दिएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले सोधपुछ गरेपछि हत्या गरेर शव शौचालयको पछाडी गाडेको दशैयाले बताएका थिए । शव उत्खनन गरी मुचुल्का गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको र प्रहरीले दशैयालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
