हेटौंडामा स्वाइन फिभर भाईरसका कारण सय बङ्गुरको मृत्यु

तु खबर संवाददाता
२०८१ पुष ४, बिहीबार १६:००

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा चालु आर्थिक वर्ष २०८१/०८२ मा स्वाइन फिभर भाईरसका कारण सय बङ्गुरको मृत्यु भएको छ । पशु सेवा कार्यालय हेटौंडाले बिहीबार आयोजना गरेको रोगबारे जनचेतना तथा अन्तरक्रिया कार्यक्रममा सो बारे जानकारी गराएको हो ।

कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरले चालु आवमा यस रोगका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा ९०, वडा नम्बर–१७ मा ७ र वडा नम्बर ११ मा ३ वटा बङ्गुरको मृत्यु भएको जानकारी दिए ।

कुनै ठोस उपचार नभएको स्वाइन फिभर रोग लागेमा बङ्गुरको शरीरमा रगतको धब्बा देखिने, १०५ डिग्री फरेनहाइट भन्दा माथि उच्च ज्वरो आउने, रगतमासी देखिने, श्वास फेर्न गा¥ह्रो हुने, खाना नखाने र गर्भ तुहिने जस्ता लक्षणहरु देखापर्ने कार्यालयका पशु चिकित्सक विजय पौडेलले बताए ।

त्यस्तै, मृत्यु भएका बङ्गुरलाई आवश्यक सर्तकताका साथ खाल्डो खनेर पुर्ने, पशु हेरचाहमा विशेष सुरक्षा सामग्रीको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन उनले सबैलाई अनुरोध गरे ।

अन्तरक्रिया कार्यक्रममा २० जना बङ्गरपालक कृषकहरुको सहभागिता रहेको थियो । सो अवसरमा सहभागी प्रत्येक किसानहरुलाई कार्य सुरक्षाका निम्ति फिनेल, चुना, माक्स, एप्रोन र ग्लोब्सको वितरण समेत गरिएको थियो ।