बालबालिकाको संरक्षणमा ध्यान दिन प्रदेश प्रमुख देवकोटाको आग्रह

तु खबर संवाददाता
२०८१ मंसिर २३, आईतवार ०८:४८

मकवानपुर । बाबुआमा तथा अभिभावक नभएर, विभिन्न कारण आफन्त नभएका, परिवारबाट अलग भएका, परिवारले त्याग गरेका, जोखिममा रहेका र बाबुआमासँग कैदी जीवन बिताइरहेका बालबालिकाहरूलाई बाल मन्दिरहरूमार्फत् संरक्षणमा राखी अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बाल संगठनको कामको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रसंशा गरेका छन् ।

बालबालिकाको हक हितका लागि कार्य गर्ने सबैभन्दा पुरानो, ठुलो र शसक्त सस्था नेपाल बाल संगठनद्वारा आयोजित पुनर्मिलन तथा पुनर्ताजगी कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले प्रसंशा गरेका हुन् ।

बालबालिकाको सरोकारको यो महत्वपूर्ण कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए । पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीसमेतको उपस्थितिमा उनले यस्तो बताएका हुन् ।

“भिन्न परिस्थितिबाट आएका नानीबाबुको खानपान, बास, स्नेह, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, परामर्श, भबिष्यको गोरेटो देखाउने यी सबै कार्य कुनै चानचुने कुरा होइन’’ उनले भने ।

बालबालिकाहरुमा असीमित क्षमता हुने उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले बाज चराजस्तो गगनमा बिचरण गर्ने थुप्रै बालबालिका पालुवा निमोठिएको बिरुवा जसरी बाँचिरहेको बताए ।

राज्यको मात्र मुख नताकी अबोध नानीबाबुको भबिष्य कोर्न लागिपर्ने नेपाल बाल संगठन तथा बाल मन्दिर र बालबालिकाको क्षेत्रमा काम गर्ने सम्पुर्ण संस्था र सरोकारवाला सबैमा हार्दिकता व्यक्त गरे ।

नेपालको संविधानले मौलिक हक अन्तर्गत बालबालिकाको हक सम्बन्धी व्यवस्था उल्लेख गरेको स्मरण गर्दै बालबालिकाहरुको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक तथा संवेगात्मक विकासमा सबैले पहल गर्नुपर्ने बताए ।

बालबालिकाको आधारभूत आवश्यकता, प्रतिभा पहिचान र प्रस्फुटनमा गरिने मन, धन, वचन र कर्मको लगानी सबैभन्दा महत्वपूर्ण कार्य भएको उनले बताए ।

राज्य र मनकारी दाताहरूले नेपाल बाल संगठन र बाल मन्दिरको नाममा अर्पेको भौतिक सम्पतिको बारेमा कता कता नरमाइला कुरा सुन्न परेको भन्दै उनले दुख लागेको बताउँदै सम्बन्धित निकायले यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताए ।

२०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनले ६ दशक पार गरेको छ । समयको खेलले आफन्तसँग बिछोडिए पनि मिलनका दिनले पर्खने उनले बताए । “आज यो पुनर्मिलनको पलको साक्षी बन्दा ममा बेग्लै अनुभूती भएको छ, म भावुक भएको छु“ उनले भने ।

वि.स. २०२१ सालमा नेपाल बाल संगठनको स्थापना पश्चात् बालमन्दिर भवन निमार्णगरी विभिन्न जिल्लाहरुबाट प्रतिकूल परिस्थितीमा रहेका बालबालिकाहरुको लागि आवास तथा बालमन्दिर विद्यालय संचालन गर्दै आएको अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताइन् । “समृद्ध राष्ट्रको मूल आधार, सुरक्षा र मुस्कान सहितको बाल अधिकार’’ भन्ने नाराका साथ संगठनले काम गरिरहेको अध्यक्ष न्यौपानेले बताइन् ।